राजनीति

भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैनः सञ्चार मन्त्री

Banner

अर्घाखाँची,भदौं ८-

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिनुभएको छ । सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता कर्मचारीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले नेपाल सरकार नै भ्रष्टाचारलाई उन्मूलन पार्ने दिशामा अगाडि बढेकाले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि सरकारले नछाड्ने बताउनुभयो । उहाँले देश समृद्धिको दिशामा अगाडि बढेको उल्लेख गर्दै देशलाई अगाडि बढाउने कि यथास्थितिमा राख्ने भन्ने सबै हात कर्मचारीसँग भएको बताउनुभयो । कर्मचारीका हकहितमा सरकारले काम गरिरहेकाले सरकारको समृद्धिको यात्रालाई सफल बनाउने मुख्य काम कर्मचारीको भएको बताउनुभयो ।

देशमा राजनीतिक क्रान्तिको अध्याय समाप्त भएको भन्दै उहाँले पाँच वर्षभित्रमा देशको विकास र समृद्धिले काँचुली फेर्ने बताउनु भयो । ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने दिशामा सरकार अगाडि बढेको उहाँको भनाइ थियो । उहाँले जनताको विश्वास र जनमतलाई आधार मानेर सरकारले काम गरिरहेको उल्लेख गर्दै गरीबी र समाजमा व्याप्त कूरीतिको अन्त्य गर्न सरकार लागिरहेको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>