राजनीति
प्रधानमन्त्री ओलीलाई भेटे भारतीय विदेशमन्त्री जयशंकरले

काठमाडौं भदौ ४-
भारतका विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । केही घण्टा अघिमात्रै काठमाडौं ओर्लेका विदेशमन्त्रीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा ओलीसँग भेट गरेका हुन् ।
जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आएका हुन् । काठमाडौंस्थित भारतीय दूतावासले जानकारी गराएअनुसार सो भेटघाटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतको सहभागिता रहेको थियो ।
संयुक्त आयोगको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र भारतको तर्फबाट त्यहाँका विदेशमन्त्री एस जयशंकरले बैठकको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा दुई देशका सबै महत्वपूर्ण विषयमा विचार विमर्श हुने जनाइएको छ । भारतका विदेशमन्त्री जय शंकर आजै ढाकाबाट काठमाडौं आएका हुन् ।