चितवन विशेष

काण्डै काण्डको जिल्ला चितवनः दासढुंगा काण्डदेखि शालिकराम मृत्यु प्रकरणसम्म

Banner

मधुसूदन दवाडी,

चितवन,भदौं ४-

नेपालको मध्यभागमा पर्ने चितवन जिल्ला हिजोको पञ्चायतीकालदेखि आजको लोकतान्त्रिक शासन व्यवस्थासम्म विभिन्न काण्डहरुले चर्चित बन्दै आएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको मध्य भागमा पर्ने यो जिल्लामा पछिल्लो समयमा शहरीकरण र जनसंख्या बढ्दै गएको छ । जसको कारणले पनि विभिन्न पात्र र प्रवृत्तिहरुको चितवनमा चर्चित बन्ने गरेका छन् । मदन भण्डारीको दुर्घटनामा निधन हुनेदेखि पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्म चितवनमा नै भएको थियो । कतिपय काण्डहरु संयोगले भएका थिए भने कतिपय काण्डहरु योजनाबद्धरुपमा नै घटेका देखिन्छन् ।

काण्डकै कारणले कतिपय अवस्थामा चितवनबासीलाई शिक्षा पनि दिएर गएको छ भने कतिपय अवस्थामा यस्ता काण्डले चितवनलाई अलोकप्रिय पनि बनाइरहेको देखिन्छ । इतिहासमा भएका घटनाहरुबाट नै समाज र नागरिकले शिक्षा लिँदै जाने हो । चितवन पनि यस्ता काण्डबाट केही न केही शिक्षा लिँदै अगाडि बढेको देखिन्छ ।

चितवनमा भएका चर्चित सात काण्ड यसप्रकार छन् ः

१) दासढुंगा हत्याकाण्ड ः

विसं २०५० जेठ ३ गते एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो । पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन आउँदै गर्दा उनीहरु चढेको जीप दासढुंगामा दुर्घटना भएको हो । जनताको बहुदलीय जनवादको विचारधारा मार्फत् नेपालको कम्युनिस्ट आन्दोलनलाई नै लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्ने भण्डारीको हत्या थियो वा दुर्घटना थियो ? अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन । यसघटनापछि चितवनको राजनीतिक वातावरण निकै तातेको थियो, यस घटनाको छानबिनको माग गर्दै हजारौं मानिस सडकमा ओर्लिएका थिए । दासढुंगा काण्डका एकमात्र जीवित साक्षी अमर लामाको पनि हत्या भएपछि यो घटना झनै रहस्यमय बन्दै गएको देखिन्छ । आज पनि दासढुंगा र मदन भण्डारीको शव भेटिएको गाँजीपुर यसै काण्डपछि चर्चामा आएको छ ।

२) फुजेल काण्ड ः

झण्डै एक दशकसम्म देश तथा विदेशसम्म चर्चा पाएको फुजेल काण्ड विसं २०६१ जेठ २४ गते चितवनमा नै घटेको घटना हो । चितवनको रत्ननगरमा मामाघर गएको बेला मारिएका छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दा गोरखा फुजेलका गंगामाया अधिकारी, उनका पति नन्दप्रसाद अधिकारी तथा उनका जेठा छोरा नूरप्रसादले न्याय माग्दै विभिन्न अदालतसम्म पुगेका थिए । न्यायको अवस्थामा आमरण अनसन बसेकै अवस्थामा नुरप्रसाद अधिकारीको निधन भएको थियो । उनको शव अहिलेसम्म पनि दाहसंस्कार हुन सकेको छैन । सम्पत्ति फिर्ता हुनुपर्ने र हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै उनीहरूले पटक–पटक प्रधानमन्त्री तथा मन्त्रीसमक्ष हारगुहार गरेका थिए । तर कसैले पनि वास्ता नगरेपछि आमरण अनशन बसेका थिए ।

कृष्णप्रसादलाई गोली हानी हत्या गरेका भनिएका अर्का मुख्य आरोपी रुद्र आचार्य हाल बेलायतको उत्तरी आयरल्यान्डमा बसिरहेका छन् । उनलाई पक्राउ गर्नु भनी जिल्ला अदालत चितवनले आदेश गरेपछि प्रहरीले डिफ्युजन नोटिस जारी गरे पनि त्यो परराष्ट्र मन्त्रालयमै गएर अड्किएको छ । अहिलेसम्म पनि फुजेल काण्ड भनेपछि गोरखा भन्दा पनि चितवनलाई नै बुझ्ने गरिन्छ ।

३) पारस–रुबेल काण्ड ः

११ डिसेम्बर २०१० अर्थात् विसं २०६७ सालमा चितवनमा घटेको पारस–रुबेल काण्ड निकै चर्चित बन्न पुग्यो । पारस शाह र तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाईँ रुबेल चौधरीसँग मेघौंलीको एक होटलमा भनाभन भएपछि गोली हान्ने प्रयास गरेको भनेर विवादमा आएका थिए । विवाद भएपछि पारसले पेस्तोल ताकेका थिए । त्यसलगत्तै उनलाई त्यहाँबाट पोखरा पुगेको बेलामा प्रहरीले पक्राउ गरेको थियो । सुजाताका ज्वाईँ बंगलादेशी नागरिक रुबेल चौधरीले चाहिं आफूलाई पारसले मार्न खोजेको आरोप लगाएका थिए ।
उनले त्यतिबेला फ्रान्सेली समाचार समिति एएफपीलाई दिएको अन्तर्वार्तामा पारसले राति बाघ हेर्न जंगलमा जाऔं भनेर प्रस्ताव गरेको र आफूले नमान्दा धम्की दिँदै गोली चलाएको आरोप लगाएका थिए । रुबेलले सो अन्तर्वार्तामा आफू, पत्नी र बच्चालाई पारसले मार्न खोजेको आरोप लगाएका थिए । गोली चलाएर पोखरा पुगेका उनलाई स्थानीय फूलबारी रिसोर्टबाट पक्राउ गरेर सार्वजनिक स्थानमा हतियार प्रयोग गरेको मुद्दा चलाइएको थियो । उनी केही दिनमै छुटेका थिए । चितवन अदालतमा मुद्दा चलेकोले पनि यो काण्ड चितवनमा चर्चित बन्यो । पूर्वयुवराज पारस हेलिकप्टरमा नै चितवनमा मुद्दाको बयान दिन आएका थिए ।

४) शिव पौडेल हत्या काण्ड ः

विसं २०६८ पुस ४ गते चितवनमा घटेको शिव पौडेल काण्ड पनि चितवनको निकै चर्चित काण्ड हो । यस काण्डमा चितवन कारागारभित्र नै आक्रमणमा परेर तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको निधन भएको थियो । हत्या अभियोगमा कैदमा रहेका पौडेलसहित पाँच जनामाथि जेलभित्रै आक्रमण भएको थियो ।

पौडेलको निधनपछि आक्रोशित तरुण दलले जिल्ला बन्द घोषणा गरेको थियो । सरकार र प्रहरी प्रशासनले सुरक्षा दिन नसकेकाले पौडेलको निधन भएको भन्दै तरुण दलले अनिश्चितकालिन चितवन बन्द ग¥यो । त्यस समय चितवनमा भएका प्रदर्शनमा झण्डै दर्जनौं सवारीसाधनहरुमा तोडफोड र आगजनी भएका थिए । यो काण्ड कारागार भित्रै भएको ग्याङफाइट थियो ।

५. मतपत्र च्यातिएको काण्ड ः

भरतपुर महानगरपालिकामा विसं २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गणनाको क्रममा साविक माओवादी केन्द्र निकट कार्यकर्ताहरुले मतपत्र च्यातेका थिए । तत्कालिन समयमा काँग्रेस–माओवादी गठबन्धन र एमालेको बीचमा तीव्र प्रतिस्पर्धा रहेको थियो । एमाले तर्फका महानगरप्रमुखका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेको अवस्थामा वडा नम्बर १९ को मतगणना भइरहँदा माओवादीका कार्यकर्ताहरुले मतपत्र च्यातेका थिए । यो काण्ड तत्कालिन समयमा निकै चर्चित बन्न गयो । भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको अवस्थामा मतगणना स्थलमा माओवादी प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतगणना स्थलमा प्रवेश गरी गणना भएका र नभएका मतपत्र च्यात्ने काम गरेका थिए । यसघटनापछि भरतपुरको अवस्था तनावग्रस्त बनेको थियो । यस घटनापछि वडा नम्बर १९ मा पुनः मतदान गरी रेनु दाहाल मेयरमा निर्वाचित भएकी थिइन् । नेपालको लोकतान्त्रिक इतिहासमा चितवनमा घटेको त्यस घटना अहिले पनि देश र विदेशमा रहेका सबै नेपालीको स्मरणमा ताजै रहेको छ ।

६) क्रिकेट रंगशाला डोजर काण्ड ः

चितवनको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यसै वर्ष जेठ १५ गते रंगशालाको छेउमा बाटो नछोडिएको भन्दै डोजर लगाएपछि यो घटना निकै सनसनीपूर्ण बन्यो । रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेललगायत पक्राउ परे । केही दिन हिरासतमा बसेपछि उनीहरु छुटे । देशकै गौंरवको यो योजनामा स्थानीय युवाहरुले नै डोजर लगाएपछि देश तथा विदेशबाट यस घटनाको विरोध भयो ।

डोजर चलेसँगै चितवनमा रंगशाला निर्माण कार्य स्थगित भयो । चितवनमा रंगशाला बन्छ वा बन्दैन भन्ने अन्यौंल सृजना भयो । पछि वातावरण बन्दै गएको भनेपछि फेरि धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला बनाउन सुरु गरे । स्वयं रंगशालामा डोजर लगाउने प्रकाश कँडेल नै आएर रंगशालाको बार उभ्याउने काम गरे । राष्ट्रिय तथा स्थानीय मिडिया र सामाजिक सञ्जालहरुमा यस विषयले विशेष चर्चा पायो ।

७) शालिकराम पुडासैनी काण्ड ः

चितवनमा घटेको पछिल्लो चर्चित काण्ड भने माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण बन्न पुगेको छ । यस घटनाले देश तथा विदेशका नेपालीहरुको ध्यान आकर्षित भइरहेको छ । साउन २० मा चितवनको नारायणगढ बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।

आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए । पुडासैनीको सोही भिडियो बयानका आधारमा प्रहरीले न्यूज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम सञ्चालक रवि लामिछाने, प्रकरणमा संलग्नको आरोप लागेकी रुकु भनिने अस्मिता कार्की र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई समातेको हो । चितवन प्रहरीले उनीहरु तीनै जनालाई मंगलबार थप पाँच दिन म्याद थपेर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

रवि लामिछानेलाई पक्रिएर चितवन ल्याएसँगै उनको समर्थनमा भएको प्रदर्शन आजसम्म पनि जारी छ । एकजना टेलिभिजन पत्रकारको पक्षमा सयौं नागरिक सडकमा आउनुले देशभर चर्चापरिचर्चा भयो, प्रदर्शन निकै आक्रामक बन्दै जाँदा प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे प¥यो । रविलगायत तीनै जना दोषी होलान् वा नहोलान् तर यो प्रकरणले चितवन फेरि एकपटक चर्चामा आएको छ । यि बाहेकका काण्ड पनि चितवनमा घटेका छन् ।

चर्चामा आउनुका कारण ः

दासढुंगा दुर्घटना सुनियोजित थियो वा संयोग थियो अहिलेसम्म निश्चित हुन सकेको छैन । राजमार्गको मध्य भागमा परेकोले पनि यसप्रकारका दुर्घटनाहरु चितवनमा भइरहन्छन् । शिव पौडेलको जेलमा भएको आक्रमणले तत्कालिन समयमा चितवनमा मौलाएको गुण्डागर्दीलाई संकेत गर्दछ । राजनीतिको आवरणमा हुने अपराधिकरणको पराकाष्टा नै त्यो घटना थियो । फुजेल काण्ड तत्कालिन माओवादी द्वन्द्वको कारणले भएको थियो । त्यस्तै, रुबेल र पारस काण्ड भने पारस शाहाको सनकको उपज थियो । पछिल्लो पत्रकार पुडासैनी प्रकरण भने एउटा संयोग नै थियो । भिडियो सार्वजनिक भएपछि उनी आत्महत्या गर्ने मनसाय बोकेर चितवन आएका थिए भन्ने प्रष्ट हुन्छ ।

नेपालका विभिन्न शहरहरुमा आवतजावत गर्ने केन्द्र भएकोले धेरै मानिसको आवतजावत हुने हुँदा चितवनमा यस्ता घटना बढेको देखिन्छ । अर्काेतर्फ बढ्दो शहरीकरण र जनसंख्याको बढ्दो दरले पनि अपराधिकरणका क्रियाकलापहरु बढ्दै गएका छन् । जसमध्ये केही यस्ता चर्चित प्रकरण पनि परेका छन् । अर्काेतर्फ चितवन नेपाली राजनीतिको केन्द्र पनि भएकोले जसरी पनि चुनाव जित्नै पर्छ भन्ने मानसिकताले मतपत्र च्यातिने प्रकरण जस्ता घटना घटेको देखिन्छ । यी प्रकरणहरुले केही न केही शिक्षा पनि दिएको छ । पत्रकार शालिकराम पुडासैनी प्रकरणले आत्महत्या दुरुत्साहनको विषयबारे आमनागरिकलाई सजक गराएको छ । फुजेल प्रकरणले नेपालको न्याय व्यवस्था र परिपाटीबारे झल्काएको छ भने मतपत्र च्यातिएको प्रकरणले यसप्रकारको गलत प्रवृत्ति अब दोहोरिनु हुँदैन भन्ने आमनागरिकलाई शिक्षा दिएको छ । आशा छ यस्तै प्रकारका प्रकरणहरु चितवनमा नदोहोरिउन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>