मनोरञ्जन

मिलनको ‘भिजुअल ड्रिम’

Banner

अमेरिका, साउन २५ –

नेपाली फिल्म र फोटोग्राफी क्षेत्रमा परिचित नाम हो मिलन थापा । फिल्म क्षेत्रलाई सपनाको व्यापार पनि भनिन्छ र फिल्मकर्मीलाई सपनाको व्यापारी । तर, मिलनको सपना भने व्यापार हैन सिर्जना तर्फ बढी केन्द्रित छ । उनी सपना देख्छन् तर त्यसको हिसाब गर्दैनन् । बरु आफ्नो सपनालाई ‘स्क्रिन’मा उतार्ने उपकरणको हिसाव गर्छन्, त्यसको जोहो गर्न क्रियाशील रहन्छन् ।

उनीसँग सपना छ र सपनालाई पर्दामा उतार्ने कला पनि । उनी त्यो सीप र सपना संसारमा फिंजाउन चाहन्छन् । र, त्यही हुटहुटीले उनी संयुक्त राज्य अमेरिका आइपुगेका छन् । हालै ‘ट्राभर्स नेपाल’ भिडियोबाट निकै ख्याती कमाएका मिलन संसारको उच्च प्रविधिमा नेपालको मौलिक कला र भौगोलिक सौन्दर्य पस्कन लालायित छन् । ‘राम्रो चिजको कमी छैन नेपालमा । तर, संसारलाई भिडियोमा देखाउन भने राम्रो उपकरण पनि चाहिन्छ, राम्रो दृष्टिकोण त झन् चाहिन्छ । मेरो संघर्ष राम्रो चिजलाई राम्रो उपकरणले राम्रो दृष्टिकोणका साथ संसारभर पु¥याउँ भन्ने हो – उनी भन्छन् ।’

मिलन स्याङ्जामा जन्मिए, पोखरामा हुर्किए र अहिले ‘अमेरिकन ड्रिम’ पच्छ्याउँदै अमेरिकाको बोस्टन आइपुगेका छन् । ‘क्रियटिभ भिजुअल आर्टिस्ट’को रुपमा उनी नेपाली र अमेरिकी प्रोडक्शन हाउसमा परिचय बनाइरहेका छन् ।

संसारलाई हेर्ने दृष्टि हरेकको आ–आफ्नै हुन्छ । यहाँ भएका विषय र वस्तुलाई नौलो र आकर्षक तवरले देखाउन सक्ने खुवीका कारण भिजुअल आर्टिष्टहरु सफल हुन्छन् । एउटा म्युजिक भिडियो तयार पार्ने सिलसिलामा पनि उनी हरेक विधाका कलाकारमा एउटा ‘युनिक’ दृष्टिकोण पाउँछन् । जसरी उनीहरु ड्रम र गिटार चलाएर शब्दलाई सजीव बनाउँछन् आफू त्यस्तै कर्म भिडियो मार्फत गर्न आकर्षित भएको पाउँछन् उनी । आफूलाई अभिव्यक्त गर्ने आ–आफ्ना तरिका र आफ्नै औजार हुन्छन् । ‘भिडियो मेरो तरिका हो भने क्यामेरा मेरो औजार – मिलन भन्छन् ।’ यो आत्मविश्वासलाई मिलनले पुष्टी गर्दै आएका छन् ।


उनका बाबु पनि क्यामेराका सौखिन थिए । उनैको ‘यशिका एम एफ – २’ क्यामेरासँग मिलनको पहिलो चिनारी भयो । क्यामेरामा छोराको रुची देखेर आठ कक्षा पुगेपछि उनको बाबुले सोनीको ह्याण्डीक्याम उपहार दिए । अनि सुरुभयो मिलनको दृश्य दुनियाँ । उनको क्यामेरामा प्रकृति, संस्कृति, पर्व, घटना सबै कैद हुन थाले । बिस्तारै भिजुअल एडिटिङको आवश्यकता र महत्व पनि बुझ्न थाले उनले । अन्ततः छायांकन, सम्पादन र निर्देशनमा छुट्टै पहिचान बनाए ।

अमेरिका आएपछि पनि नेपाली समुदाय र संस्कृतिमै उनको झुकाव बढी छ । कलाकार र प्राविधिहरुसँगै उनी नजिक छन् । नेपाली सभ्यता र संस्कृतिलाई कसरी विश्वमा चिनाउने भन्ने चिन्तन र प्रयोगमै उनको ज्यादा समय बित्ने गरेको छ । ‘स्क्रिप्टेड’ भन्दा ‘प्रोजेक्टेड’ भिजुअल उनको रुचीमा पर्छ । एक वर्षदेखि दिमागमा खेलिरहेको त्यही ईच्छा पुरा गर्न गत वर्ष उनी नेपाल गए । त्यही सोचको नतिजा हो ‘ट्राभर्स नेपाल’ । यो भिडियोलाई धेरैले रुचाएपछि उनी नेपाल चिनाउने भिडियो बनाउन हौसिएका छन् । ‘यसपलि ६ महिना नेपाल घुमेर फर्किएको छु । पहिलो भिडियोले झन् मेहनत गर्ने उर्जा दियो । छिटै नयाँ भिडियो मार्फत आउँदैछु, उनी भन्छन् अहिले संगीत र सम्पादनमा व्यस्त छु ।’

नयाँ नयाँ प्रविधि र प्राविधिकहरुबारे जान्न उनलाई अमेरिकाले सजिलो बनाएको छ । कुनैपनि प्रविधि बजारमा आउने वित्तिकै उनी त्यसबारे जानकार हुन पाउँछन् । ‘नयाँ उपकरण हात परेपछि कतिखेर नेपाल गएर सुटिङ गरौं जस्तो हुन्छ । उनी भन्छन्,‘कथा त नेपालमै छ के, यता जहाँ गएपनि जति घुमेपनि एकनासको लाग्छ । नेपाल त विविधिताको खानी नै हो । भूगोल हेर्‍यो त्यस्तै, भाषा र भेष उस्तै । अनि मन यहाँ अडिन्न ।’

मिलनको ‘ट्राभर्स ‘नेपाल’ भिडियो

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>