कृषि
चितवन माडीका किसानद्वारा दूधमा अनुदान बढाउन माग

प्रिति पोखरेल
चितवन, साउन २८-
चितवन माडीका दूग्ध उत्पादक किसानहरुले दूधमा प्रतिलिटर पाँच रुपैंयाँ अनुदानको माग गरेका छन् ।
अहिले माडी नगरपालिकाले दूधमा प्रतिलिटर तीन रुपैंयाँ अनुदान दिइरहेकोमा त्यसमा दुई रुपैंयाँ थप हुनुपर्ने तथा दूधको बिक्री मूल्यमा पनि उचित बढोत्तरी हुनुपर्ने कृषकहरुले माग गरेका हुन् ।
राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालले माडीको बसन्तपुरस्थित पशुपंक्षी शाखामा पत्रकार भेटघाट कार्यक्रम गरी सो माग सार्वजनिक गरेका हुन् । दूधको मूल्य वृद्धि नभएको प्रति नेपाल राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक समाज माडीले आप्mनो ध्यानर्कषण भएको जनाएको छ ।
चोकर र दानामा २५ देखि ३० प्रतिशत वृद्धि भएको भए पनि कृषकहरुले उत्पादन गरेको दूधमा मूल्य वृद्धि नभएको र कृषकहरु व्यवसाय छाडेर पलायन हुने अवस्था सिर्जना भएको कृषकहरुले बताए । भदौ १ गतेदेखि दूधको मूल्य वृद्धि नभएमा ४ गतेदेखि ६ गतेसम्म काठमाडौँमा सरोकार कार्यालय घेराउ गरिने समेत कृषकले जनाएका छन् ।
माडी नगरपालिकाले किसानमैत्री कार्यक्रमअन्तर्गत सहुलियत ब्याज अनुदान कार्यक्रममा १२ करोड साना किसान महिला सहकारी मार्फत् वितरण गरेको र सो रकम सही ठाउँमा सदुपयोग भएको या नभएको नगरपालिकाले अनुगमन गर्नुपर्ने नेपाल राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक समाज माडीका सचिव गंगादत्त बस्ताकोटीले जानकारी दिए । पत्रकार भेटघाट कार्यक्रममा माडी नगरपालिकाअन्र्तगत ३२४ जना कृषकहरुले अनुदान प्राप्त गरेको र सो रकम सही ठाउँमा सदुपयोग भएको या नभएको तथ्याङ्क निकालिनुपर्ने वस्ताकोटीले बताए । सोही क्रममा माडी नगरपालिकामा किसानले दैनिकरुपमा तीन हजार ५०० लिटर दूध उत्पादन गरेको र यो बढाउन सबै लाग्नुपर्नेमा समेत नेपाल राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक समाज माडीका अध्यक्ष सूर्य भुसालले बताए ।
यसैगरी माडी नगरपालिकाअन्तर्गत रहेको पशुपंक्षी शाखामा रहेको रिक्त दरबन्दीमा कर्मचारी नियुक्ति गरी थप चिकित्सको दरबन्दी सिर्जना गर्न तथा माडी नगरपालिका १ र २ एवम् माडी नगरपालिका ८ र ९ का लागि थप दुई सेवा केन्द्र स्थापना गर्न समेत माडी नगरपालिकाको ध्यानाकर्षण गरेको समेत भुसालले बताए । हाल पशुपंक्षी शाखामा तीन जना कर्मचारी कार्यरत रहेको र ९ जना दरबन्दी रहेको माडी नगरपालिका पशुपंक्षी शाखा प्रमुख मोहनदत्त रानाभाटले बताए ।
माडी नगरपालिका–२ मा सबैभन्दा दूध उत्पादन भएको वडा रहेको र सबै वडामा दूध उत्पादन वृद्धि हुनुपर्ने किसानहरुले बताएका छन् ।
यता,आउँदो भदौ १ गतेबाट दूधको मूल्य बढ्ने भएको छ । नेपाल डेरी एसोसिएसनसँगको छलफलपश्चात सरकार दूधको मूल्य बढाउन सहमत भएको हो । गाईवस्तुलाई खुवाउने दानालगायत सबै महंगिएको सन्दर्भमा एशोसिएसन, नेपाली डेरी उद्योग, केन्द्रीय दूध संस्थान र कृषिमन्त्रालयको संयुक्त बैठकबाट प्रतिलिटर १० रुपैयाँका दरले दूधको मूल्य बढाइने भएको हो ।