देश/प्रदेश

अख्तियार प्रमुखज्यू, ‘२ सय वर्ष बाँच्‍नू’ भन्दै नायब सुब्बाले गरे आत्महत्या

Banner

काठमाडौं, साउन २७

भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन्।

आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका-९ को रातामाटेको जंगलमा उनले झुन्डिएर आत्महत्या गरेका हुन्। सोही नगरपालिका-१० घर भएका उनी काठमाडौंबाट शनिबार उदयपुर गएका थिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीका अनुसार उनको साथबाट दुई पृष्ठ लामो ‘सुसाइड नोट’ भेटिएको छ।

उनले त्यहाँ ‘आफू निर्दोष रहँदारहँदै भ्रष्टाचार मुद्दा लगाइएको’ जनाएका छन्।

५५ वर्षीय आचार्यले ‘अख्तियार प्रमुख नवीन घिमिरेको दुई सय वर्ष आयु होस्’ भनी ‘सुसाइड नोट’मा बिलौना गरेका छन्।

‘सुसाइड नोट’मा आचार्यले आफ्नो परिवारलाई राम्रोसँग मिलाएर राख्न नसकेको र गर्दै नगरेको भ्रष्टाचार आरोप लाग्दा आत्महत्याको बाटो रोजेको उल्लेख गरेको डिएसपी केसीले बताए।

‘म कसैको दुई रुपैयाँसमेत नखाने चोखो मान्छेलाई भ्रष्टाचारी बनाउन खोजियो। अहिलेसम्म कसैको एक पैसा हिनामिना गरेको छैन, भ्रष्टाचार गर्ने कुरा त परै जाओस्। मलाई भ्रष्टाचारी देख्ने अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना!,’ सुसाइड नोटमा लेखिएको छ।

उनी शनिबार घर पुगेपछि हराइरहेका थिए। बेपत्ता भएपछि उनलाई दिनभरि खोजी गरिए पनि फेला पार्न सकिएको थिएन।

९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङका नाममा नामसारी गरेको भन्दै नायब सुब्बा आचार्यसहित कलंकी मालपोतका अधिकृत शिवप्रसाद रिमाल, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, मीनाकुमारी थापाका वारेश दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध गत जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रहरीका अनुसार आचार्यको लाश पोस्टमार्टम गरी आफन्तले बुझिसकेका छन्। आचार्यको आइतबारै अन्त्येष्टि गरिएको थियो।सेतोपाटी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>