नवलपुर

व्यवसायिक तरकारी खेतीमा रमाउँदै नवलपुरका मुसहर समुदाय

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन २४–

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा निउरो टिपेर अनि नारायणी नदीमा माछा मारेर जीवनयापन गर्दै आएका नवलपुरका माझी, मुसहर, बोटे समुदाय पछिल्लो समय अन्य पेसालाई अंगाल्न थालेका छन् ।

कुनै समय ‘नारायणीमा माछा मार्न पाउनै पर्छ, निउरो टिप्न पाउनै पर्छ, यो हाम्रो अधिकार हो’, भनेर लड्न तम्सने ती समुदायमा संरक्षणको चेतनाको विकास हुन थालेपछि आफ्नो जीवनशैलीलाई विस्तारै परिवर्तन गर्नतर्फ लागेका छन् ।

कावासोती नगरपालिका–१५ शेरगञ्जमा बसोबास गर्ने मुसहर समुदायका केही परिवारले व्यवसायिक तरकारी खेती सुरु गरेका छन् । यहाँका १० घरले व्यवसायिक अर्गानिक तरकारी खेती सुरु गरेका छन् । प्रत्येक घरधुरीले कम्तीमा दुई कठ्ठा जग्गामा तरकारी खेती सुरु गरेका हुन् । त्यस्तै, १० परिवारले बेमौसमी तरकारी खेती गर्ने योजना अनुसार अहिले काउली, बन्दागोभी, साग, टमाटर, भिण्डीलगायतका तरकारीका बीउको नर्सरी तयार गर्दैछन् ।

बेमौसमी तरकारी उत्पादन गर्न सके आम्दानी राम्रो हुने भएकाले बेमौसमी तरकारी खेतीतर्फ लागेको कृषक विष्णु मुसहरले बताए । उनले भने, ‘हामीले बेमौसमी अर्गानिक तरकारी खेतीको तालिम लिएका थियाँै । मौसम अनुसारको भन्दा बेमौसमी तरकारी खेती गर्दा आम्दानी राम्रो हुने थाहा पाएपछि अहिले टनेल बनाएर तरकारी लगाउन लागेका छौँ । टनेल बाहिर मौसम अनुसारका बोडी, भिण्डी,खुर्सानी पनि लगाएका छौं । ’

यसअघि नारायणी नदीमा माछा मारेरै गुजारा चलाएका विष्णुले अहिले व्यवसायिक तरकारी खेती गर्न धेरै मेहनत गरेका छन् । दिनरात र घामपानी समेत नभनी टनेल बनाउन, खनजोत गर्न, बीउ राख्न कस्सिएका छन् । उनलाई उनकी श्रीमती लालकुमारीले पनि साथ दिएकी छिन् । लालकुमारी भन्छिन्, ‘पहिलेको जस्तो समय अहिले छैन । माछा मारेर बेचेको पैसाले मात्रै घर चलाउन पुग्दैन । दिनभरी नारायणीमा भिजीभिजी माछा मा¥यो जंगलमा गएर निउरो टिप्यो दुःख गरे अनुसारको पैसा नै पाइँदैन । अर्कोतिर गैँडाले हान्ने हो कि? गोहीँले खाने होकि ? भन्ने चिन्ता मात्रै हुन्छ । त्यसैले अब तरकारी खेती गर्ने यसैमा मेहनत गरेमा कमाईँ पनि हुन्छ । ’

१० जना मध्येका अर्का किसान हुन्, गनबहादुर मुसहर उनी पनि तरकारी खेती गर्न दिनरात खटिएका छन् । सागका बेर्ना उमारेका छन् । काउली टमाटरको बीउ राखेका छन् । उनी पनि यसअघि माछा मारेर जीवन निर्वाह गर्दै आएका थिए । बाउबाजेले माछा मारेर जीवन बिताए । मैलेनी लगभग आधा उमेर माछा मारेर बिताए । मेरो छोरानातीले पनि यही गर्न नपरोस् भनेर अब अरु पेसा गर्न थालेको हो । आज मरिन्छ कि भोलि भनेर चिन्तै चिन्तामा कति माछा मार्ने ?’ गनबहादुरले भने ।

निकुञ्ज आसपास बसोबास गर्ने भएकाले वन्यजन्तु र मानव बीचको द्वन्द्वले जनधनको क्षति त भएकै छ । अर्कोतर्फ वन्यजन्तुको संरक्षणमा समेत चुनौती थपिएको छ, त्यसैले पनि निकुञ्जमा आश्रित यी समुदायलाई अन्य पेसा ब्यवसायतर्फ आकर्षण गर्नुपर्छ भन्ने उद्देश्यले अमलटारी मध्यवर्ती उपभोक्ता समितिले व्यवसायिक तरकारी खेतीका लागि प्राविधिक र आर्थिक सहयोग गरेको समितिका अध्यक्ष केदारनाथ घिमिरेले बताए । ‘हामीले निरन्तररुपमा यी समुदायलाई निकुञ्जबाट बाहिर ल्याउन धेरै प्रयत्न गरेका छौं । क्रमिकरुपमा केही न केही परिवर्तन त भएको छ तर पूरै परिवर्तन हुन भने समय लाग्छ ।’ घिमिरेले भने, ‘केहीले होमस्टे चलाएका छन् । केहीले माछापोखरी गरेका छन् । केहीले होटेल चलाएका छन् । अहिले १० घरपरिवारले तरकारी खेती सुरु गरे । केही परिवर्तन त भएकै छ । हामी पूरै परिवर्तन गर्न लागिरहेका छौं । एक दिन अवश्य सफल भइन्छ ।’

घिमिरेका अनुसार तरकारी खेती गर्न समितिको समन्वयमा तराई भू–परिधि कार्यक्रम (ताल )मार्फत् प्रत्येक घरधुरीलाई एक लाख रुपैयाँ उपलब्ध गराइएको छ । उक्त रकमबाट नै किसानहरुले खेतीका लागि आवश्यक पर्ने टनेल, प्लाष्टिक, कुटो कोदालो, मल बीउ खरिद गरेका छन् । किसानका लागि एक हप्ते तरकारी खेती तालिम उपलब्ध गराइएको थियो । खेती सुरु गरेपछि आवश्यक पर्ने प्राविधिक सहयोगसमेत समितिले गर्ने घिमिरेले बताए । खेती गर्नेक्रममा किसानलाई कुनै समस्या परेमा सहयोग गर्ने उद्देश्यले एक लाख २५ हजारको कोषसमेत खडा गरेको घिमिरेले जानकारी दिए । किसानले उत्पादन गरेको उपजलाई नजिकै रहेको होमस्टे, होटल र रिसोर्टमा बिक्री वितरण गर्ने ब्यवस्थासमेत मिलाइ सकिएको घिमिरेले बताए ।

शेरञ्जमा करिब ७० घर मुसहर समुदायको छ । यहाँका अधिकांश परिवारले नारायणीमा माछा मार्ने, निउरो, जलुका, बडेर जस्ता कन्दमुल टिप्ने र त्यही बेचेर गुजारा चलाउँदै आएका छन् । जंगलमा पाइने यी कन्दमुल टिप्न, माछा मार्न त्यति सजिलो छैन । ज्यानको जोखिम मोल्नुपर्छ, कतिबेला जंगली जनावर गँैडा, बाघ, भालु, बदँेलले आक्रमण गर्छ भन्ने ठेगानै हुदैन । कतिले त ज्यानै गुमाइसके ।

अर्कोतर्फ निकुञ्जको कानुन विपरितको काम भन्दै निकुञ्जमा खटिएका सेनाले देखे छोपेर लान्छन् । कतिले लछालपछार गर्ने, महिलाहरुमाथि यौन दुब्र्यवहार गरेका घटनासमेत बेलाबेलामा बाहिर आउछन् । निकुञ्जमै आश्रित यी समुदायलाई निकुञ्ज क्षेत्रभन्दा बाहिर निकालेर अन्य पेसा व्यवसायतर्फ आकर्षण गर्न यहाँ धेरै संघसंस्थाले काम गरिरहेका छन् । स्थानीय तहले पनि विभिन्न योजना र कार्यक्रम अघि सारेको छ । तर, यहाँका समुदाय झट्ट बाहिर निस्कनै खोज्दैनन् ।

गरिबी, अशिक्षा र चेतनाको कमीले गर्दा यी समुदाय अन्य पेसा व्यवसाय अंगाल्न नसकेको यसै समूदायका अगुवा सन्तबहादुर माझी बताउँछन् । ‘ऐलानी जग्गामा बस्दै आएका छौं, अहिले जोतभोग गर्दै आएको जग्गाको लालपूर्जासम्म पाएमा पनि जग्गा धितो राखेर वा अलिकति बेचबिखन गरेर अन्य पेसा ब्यवसाय गर्न आँट हिम्मत आउने थियो । तर, लालपूर्जा छैन । अन्य आम्दानी पनि छैन । जागिर गर्न पढाइ छैन । अनि माछा मार्नु बाहेक अरु विकल्पै छैन ।’ अगुवा सन्त बहादुरले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>