चितवन विशेष

चितवनको माडीमा पार्टी प्यालेसमा विवाह गर्न रोक, १०१ भन्दा बढी दक्षिणा दिन नपाइने

Banner

प्रिति पोखरेल

चितवन, साउन २१

माडी नगरपालिकाले दक्षिणा १०१ रुपैयाँ लागू गर्ने गरी योजना अघि सारेको छ ।

आज बसेको दास्रो कार्यपालिका बैठकले सामाजिक तथा सांस्कृतिक संस्कार अनुरुप सो योजना ल्याएको हो । बैठकले विवाह, ब्रतवन्ध, चार्डपर्व, पूजाआजालगायत शुभ कार्यमा प्रदान गरिने दक्षिणा १०१ रुपैयाँ कायम गर्न अभ्यास स्वरुप प्रथम चरणमा नगर कार्यपालिका सदस्यहरुद्वारा नै सोही बराबरको दक्षिणा व्यवहारमा लागू गराउने निर्णय गरेको छ । दक्षिणाको नाममा थपिने आर्थिक भार र तडकभडकले आर्थिक समृद्धिको पतनतिर डोहो¥याउने भएकाले पनि सामान्यरुपमा सामाजिक संस्कारमा सहभागी हुन नगरपालिकाले नगरबासीमा आग्रह गरेको छ ।

यस्तै पार्टी प्यालेसहरुमा भड्किलो र खर्चिलो रुपमा विवाह गरिने प्रचलनलाई निरुत्साहित गर्दै माडीमा पार्टी प्यालेसहरुमा गरिने विवाहमा रोक लगाउन प्रयास गर्ने भएको छ । ‘यसले स्थानीय उपलब्धता, स्रोतसाधनको प्रयोगमा कमी ल्याउँछ, स्थानीय व्यवसाय धारासायी  बन्छ भने स्थानीयलाई आर्थिक भार बढाउँछ’ माडी नगरपालिका प्रवक्ता तथा माडी नगरपालिका–९ वडाध्यक्ष शिवहरि सुवेदीले भने । बैठकले माडी बाहिरका पार्टी प्यालेसहरुमा धेरै खर्चिलो र भड्किलो भोजभतेर नगर्न नगराउँन आग्रह गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

दाइजो प्रथाअझै पनि ब्याप्त रहेको भन्दै प्रवक्ता सुवेदीले भने, ‘दाइजो प्रचलन नियन्त्रण गर्न आवश्यक कदम चालिने छ’ । जरा छाड्न नसकेको कुसंस्कारको अन्त्य वर्तमान आवश्यकता हो । छुवाछुत प्रथालाई हटाउन सहभोजको आयोजना गरिने निर्णय गरिएको छ ।

दुई छोरी मात्र जन्माउनेलाई विशेष सुविधा

दुई छोरी मात्र जन्माएर स्थायी बन्ध्याकरण गर्ने परिवारको दुवै छोरीलाई नगरपालिकाले नगरभित्रै कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरेको छ । लैंगिक समानता तथा सामाजिक समावेशी शीर्षकअन्र्तगत प्रस्तावित योजनामा निर्णय गरिएको छ ।

छात्रबास सञ्चालन हुँदै 

माडी नगरभित्र रहेका अभिभावकविहिन असहाय बालबालिकालाई लक्ष्मी निवासस्थित छात्रबासमा राखिने भएको छ ।

उक्त छात्राबासमा राखिने बालबालिकाहरुको शिक्षा र उज्वल भविष्य निर्माणको लागि नगरपालिकाले आवश्यक लगानी गर्ने छ । नगरमा यति नै असहाय तथा अभिभावकबिहिन बालबालिका छन् भन्ने एकिन तथ्य भने छैन । उनीहरुको तथ्यांक संकलनको कार्य जारी रहेको छ । वाल्मीकि आश्रममा रहेका ९ बालबालिकालाई छात्रबासमा ल्याइने प्रवक्ता सुवेदीले जनाए । असाहय बालबालिकाहरुको शिक्षाको लागि नगरपालिकाले नगर शिक्षाकोष समेत स्थापना गरेको छ । शिक्षा नै सफल वर्तमान र उज्वल भविष्यको पहिलो मार्गदर्शक हुने भन्दै नगरपालिकाले शिक्षामा धेरै लगानी गरेको छ । यता चेपाङ समुदायको बाहुल्यता रहेको नगरपालिका ९ प्याउलीमा बालशिक्षा प्रदान गरिनेछ ।

एक सवारी र दुई ट्रिपर खरिद गरिने

यसैबीच आजको बैठकले दुई वटा ट्रिपर र एउटा सानो गाडी खरिद गर्ने निर्णय गरेको छ । अहिले नगर प्रमुखले भाडामा ल्याइएको सवारी प्रयोग गरिरहेकाले सामान्य गाडी खरिद गरिने जनाइएको छ । त्यसैगरी नगरपालिकामा जारी विकास निर्माणका कामहरुका लागि दुई वटा ट्रिपर समेत खरिद गर्न लागिएको हो । गाडी र ट्रिपर खरिदका लागि नगरपालिकाले एक करोड ८० लाख रुपैँया बजेट बिनियोजन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>