प्रदेश १

राष्ट्रिय प्रशारणमा २२ मेगावाट विद्युत् थपियो,हेवा जलविद्युत् आयोजना निर्माण सम्पन्न

Banner

रवीन्द्र काफ्ले,

पाँचथर,साउन १६-

पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

काबेली कोरिडोर १३२ केभी प्रशारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ गतेदेखि आयोजनाको परीक्षण उत्पादन भइरहेको छ । यहाँ उत्पादित विद्युत् अहिले केन्द्रीय प्रशारण लाइनमा प्रवाह भइरहेको छ । आयोजना निर्माण सम्पन्न भएर आम्दानी गर्ने अवस्थामा पुगेपछि आफूहरु हर्षित भएको आयोजना निर्देशक दीपेन्द्र आङ्बोले बताउनुभयो । परीक्षणको १५ दिनपछि उत्पादित विद्युत् बिक्री गर्न थालिने छ ।

फिदिमस्थित थापाटारको काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजनाको सवस्टेशनबाट तल्लो हेवाको विद्युत् केन्द्रीय प्रशारण लाइनमा पठाउन थालिएको हो । यस आयोजनाबाट जेठदेखि मङ्सिरसम्म २२.३४ मेगावाट विद्युत् उत्पादन हुने सिनियर इलेक्ट्रिकल इञ्जिनीयर नामेश्वर यादवले बताउनुभयो । खोलाको पानी घट्ने याम मङ्सिरदेखि वैशाखसम्म १० देखि १२ मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ । यहाँका हेवा र फेमे दुई खोलाको पानी जोडेर तल्लो हेवा जलविद्युत् आयोजना निर्माण भएको हो ।

प्रतिसेकेण्ड १७ हजार लिटर प्रवाह हुने पानीको बहाबबाट २२.३४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अहिले तल्लो हेवाबाट २४ मेगावाटसम्म उत्पादन गर्न सकिने पानी उपलब्ध रहेको इन्जिनीयर यादवले बताउनुभयो । यहाँबाट प्रतिदिन उत्पादित पाँच लाख ७० हजार युनिट विद्युत्बाट रु २२ लाखसम्म आम्दानी हुने बताइएको छ । प्राधिकरणले प्रतियुनिट वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद गर्दै आएको छ ।

तल्लो हेवा ‘माउन्टेन हाइड्रो पावर लिमिडेट’ले निर्माण गरेको हो । विभिन्न व्यवधानका कारण तल्लो हेवाको काम ढिलो सम्पन्न भएको हो । यहाँ पाँच हजार ३०० मिटर दुरीको सुरुङ र ६०० मिटर पेनस्टक बनाइएको छ । हेवातर्फको इन्टेक फिदिम नगरपालिका–११, नांगीन सेजेपा र हिलिहाङ गाउँपालिका–७ भारपाको सीमामा बनेको छ । विद्युत् गृह फिदिम–४ को सारन्तामा छ । रु तीन अर्ब ६६ करोडमा सक्ने गरी बनाउन थालिएको तल्लो हेवाको लागत रु ७० करोड बढेको आयोजनाले जनाएको छ । “नाकाबन्दी, भूकम्प, आन्तरिक विवादका कारण लागत बढेको हो”, आयोजना प्रमुख गणेश सुब्बाले बताउनुभयो । विसं २०७४ असारमा सक्ने सम्झौताका साथ २०७० मङ्सिरदेखि तल्लो हेवाको निर्माण थालिएको थियो । यो आयोजना निर्माणमा १२ राष्ट्रिय वाणिज्य बैंकहरुको ७० प्रतिशत लगानी रहेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>