चितवन विशेष

गोर्खा ब्रुअरीलाई सात दिनभित्र कर बुझाउन राजश्व कार्यालय भरतपुरको पत्र

Banner

चितवन,साउन १५-

सर्वोच्च अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको छ । कार्यालयले दुई आर्थिक वर्षको तिर्न बाँकी रहेको रु ८७ करोड १४ लाख ९७ हजार ५७८ सात दिनभित्र दाखिला गर्न आदेश जारी गरेको हो ।

कार्यालयका प्रमुख शुभप्रसाद रिजालका अनुसार आव २०७३/७४ को रु ५३ करोड २१ लाख ५७ हजार ६१५ र आर्थिक वर्ष २०७४/०७५ को रु ३३ करोड ९३ लाख ३९ हजार ९६३ अन्तःशुल्क, जरिवाना र विलम्व शुल्क दाखिला गर्न पत्राचार गरेको हो । कार्यालयले साउन १२ गते नै पत्र बुझाइसकेको जनाएको छ ।

अन्तःशुल्क ऐन २०५८ को दफा १० (घ)तथा नियमावली २०५९ को नियम ६ (कं) बमोजिमको अन्तिम अन्तःशुल्क आदेश जारी गरिएको र सो पत्र करदाता प्रतिनिधिले बुझिसकेको रिजालले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले साउन ८ गते यसअघि उच्च अदालत पोखराले गरेको आदेशलाई उल्टाएपछि कर सङ्कलन गर्ने बाटो खुलेको हो । दुई प्रतिशत मात्र जर्ती पाउने भए पनि फ्लो मिटर बिग्रिएको भन्दै ब्रुअरीले ३.५ प्रतिशत जर्ती कटाएपछि राजश्व कार्यालयले सोको कर निर्धारण गरेको थियो । निर्धारण गरेको करमा असहमति जनाउँदै ब्रुअरीले जेठ १९ गते उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । अदालतले असार ११ गते कार्यालयका नाममा प्रारम्भिक कर निर्धारण कार्यान्वयन नगर्न र यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

सोपश्चात् ब्रुअरीविरुद्ध आन्तरिक राजश्व कार्यालय भरतपुरले यही साउन ७ गते सर्वोच्च अदातलमा रिट दायर गरेको थियो । सोही रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले उच्च अदालत पोखराले गोर्खा ब्रुअरीको पक्षमा जारी गरेको अन्तरिम आदेश कार्यान्वयन नगर्न/नगराउनु भनी आदेश जारी गर्नुभएको थियो । यससँगै आन्तरिक राजश्व कार्यालयले ब्रुअरीको अन्तिम कर निर्धारण गर्न बाटो खुल्ला भएको हो ।

रिजालका अनुसार चित्त नबुझेमा ब्रुअरीसँग प्रशासकीय पुनरावेदन गर्न पाउने अधिकार सुनिश्चित छ । यसमा ब्रुअरीले आन्तरिक राजश्व विभागका महानिर्देशकसमक्ष प्रशासकीय पुनरावेदन निवेदन दिन सक्ने छ । यद्यपि सर्वोच्चले फैसला गरिसकेकाले पुनरावेदन हुने सम्भावना न्यून रहेको जनाइएको छ ।

ब्रुअरीका कानून व्यवसायी सङ्कल्प क्षेत्रीले पत्र बुझेको र कुन बाटो अवलम्बन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । कर तिर्ने वा प्रशासकीय पुनरावेदन गर्ने भन्ने विषयमा टुङ्गो लागिनसकेको उहाँको भनाइ छ ।

ब्रुअरीले यसअघिका तीन वर्षमा पनि सोही शीर्षकमा कर तिर्न बाँकी रहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/०७१ को रु.७ करोड, ०७१/०७२ को रु १५ करोड र ०७२/०७३ को रु २९ करोड अन्तःशुल्क बुझाउन बाँकी रहेको छ । अघिल्ला दुई वर्षको राजश्व न्यायाधीकरण र पछिल्लो एक वर्षको सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले टुङ्गो लाग्न नसकेको रिजालले जानकारी दिनुभयो ।

उद्योगको फ्लोमिटर राखेर चलेको अवस्थामा ३.५ प्रतिशतसम्म जर्ती कटाउन सक्ने प्रावधान रहेको छ । फ्लोमिटर नरहेको र बिग्रिएको अवस्थामा दुई २ प्रतिशत मात्रै जर्ती काट्न सक्ने छ तर ब्रुअरीले फ्लोमिटर राखेर पनि चलाएको छैन तर ३.५ प्रतिशत जर्ती दाबी गर्दै आएपछि हरेक आवमा कर निर्धारणको विषयमा विवाद हुँदै आएको हो ।

विसं २०४५ देखि नवलपरासीको मुकुन्दपुरमा सञ्चालन हुँदै आएको ब्रुअरीले गत आवमा रु ११ अर्ब अन्तःशुल्क तिरेको छ । त्यसअघिका दुई वर्षमा रु आठ अर्ब र रु पाँच अर्ब अन्तःशुल्क तिरेको थियो । यस कार्यालयमा सङ्कलन हुने अन्तःशुल्कको ४० प्रतिशत गोर्खा ब्रुअरीले तिर्ने गर्दछ । सो उद्योगले गोर्खा, काल्सबर्ग र टुबर्ग बियरसँगै एप्पल साइडर उत्पादन गर्दै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>