चितवन विशेष

भरतपुरको बसेनी सडकको कन्तबिजोग : हिलाम्य सडकमा नागरिकलाई सास्ती (फोटो फिचरसहित )

Banner

नारायणी अनलाइन डेस्क

चितवन, साउन १२

भरतपुर महानगरपालिका–११ बसेनी–लामाटोल सडक निर्माणको काम अलपत्र हुँदा नागरिकले सास्ती पाएका छन् ।

सडकको प्रवेश बिन्दु मानिएको बसेनी बजार क्षेत्रमा पिच गर्ने काम अलपत्र परेको छ भने गोरखाली टोलमा पनि सडक विस्तार कार्य अलपत्र पर्दा हिलोले वर्षायाममा धान रोप्न बनाइएको खेत जस्तो सडक बनेको छ । सडक हिलाम्य बन्दा विद्यालय उमेरका बालबालिका र यात्रुहरुलाई सास्ती भएको छ । यात्रुले वैकल्पिक बाटो प्रयोग गर्न पनि सक्ने अवस्था छैन जताततै खाडल नै खाडल देखिन्छ । सोही बाटो भएर हरेक दिन छोरीलाई सेन्ट पल स्कुल लैजाने यात्रु दुर्गामान गुरूङले गोरखाली टोलको विकल्पमा नहरको डिलडिलै माथि जाने बाटोमा पनि भत्काइएकोले छोरीलाई विद्यालय पु¥याउन र ल्याउन निकै सास्ती भएको बताए । उनले भने, ‘ हिलाम्य सडकमा मोटरसाइकल, स्कुटर जोगाउन नै कठिन  छ । साइकल पनि घिसारेर हिड्नुपर्ने भएको छ ।’

सडक निर्माण समिति मार्फत् भइरहेको विस्तार कार्य समयमा पूरा हुन नसकेको निर्माण समितिका अध्यक्ष टेकबहादुर तामाङले बताए । उनले भने, ‘असार मसान्तसम्म ४० लाख रुपैयाँको लागतमा सडक विस्तार सम्पन्न गर्ने लक्ष्य हो तर काम लथालिङ्ग भइरहेको छ । खराब मैसम र मजदुरले समयमा काम नगरिँदा यस्तो अवस्था आएको हो ।’ नगरपालिकाको बजेट र स्थानीयको सहयोगमा निर्माण भइरहेको यस सडकलाई १६ मिटर फराकिलो बनाउने लक्ष्य छ । अध्यक्ष तामाङले भने, ‘वडा अध्यक्ष बाबुराम अधिकारीले खासै चासो नदिएकोले पनि बाटो अलपत्र परिरहेको छ । वडाबाट ग्राभेल ल्याएर हालेर नागरिकलाई केही राहत दिने काम वडाले गर्न सक्थ्यो तर वडा अध्यक्षले त्यती पनि गरेनन् ।’

नेपाली कांग्रेसका क्षेत्रीय समिति सदस्य तथा स्थानीय कांग्रेसका नेता ज्ञानेन्द्र गिरीले भरतपुर महानगरपालिकामा सबै भन्दा सुस्त गतिमा काम भएकोनै वडा नम्बर ११ भएको दाबी गरे । उनले भने, ‘ वडा कार्यालयले नयाँ पिच बनाउन चासो दिने तर भत्किएको बाटो बनाउन भने त्यती चासो दिएको छैन । ’ उनले जनतासँग पैसा उठाएर समाजसेवाको नाममा कमिसनको खेल चलिरहेको बताए । निर्माण कार्यमा भएको बदमासीको छानबिन हुनुपर्ने उनको माग छ ।

सडक विस्तारमा दीर्घकालिन सोच र योजना नहुँदा खानेपानी बोर्डले बिच्छ्याएको पाइपमा पनि क्षति पुग्न गएको छ । जसका लागि बोर्डले वडासँग क्षतिपूर्तीको माग गरेको छ । गोरखाली टोलका अध्यक्ष लालप्रसाद ढकालले सडक विस्तारमा खानेपानीको पाइप काटिएको भन्दै उजुरी परेकोले काम ढिला भएको नारायणी अनलाइनलाई जानकारी दिए । आफूले नागरिकलाई सास्ती भएकोले कमसेकम हिड्न मिल्ने गरी बनाइदिन बन्दै आए पनि खासै सुनुवाइ नभएको बताए । उनले ठेकेदारले पनि समयमा काम नगरेको गुनासो गरे । सडक विस्तारको काम भीम घलेले उपभोक्ता समिति मार्फत् गरिएको उनले बताए । एकातिर निर्माण पक्षको ढिलाइ, अर्काेतिर सडकको काम नसकिने समयसम्मको लागि अस्थायीरुपमा हिड्न मिल्ने गरी ग्राभेल हाल्ने काम वडाले गर्न नसक्दा नागरिकले निकै सास्ती पाइरहेका छन् । वडा अध्यक्ष बाबुराम अधिकारीकै घर जाने यो बाटोको दुरदशा देख्दा कुनै कर्णाली क्षेत्रमा पुगेको अनुभव हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>