चितवन विशेष
पाँच वर्षे कार्ययोजना बनाउँदै चेपाङ संघ
चितवन, साउन ११–
नेपाल चेपाङ संघ चितवन शाखामा आवद्ध जिल्लाका सातवटै स्थानीय तहका इकाइहरुले पाँच वर्षे रणनैतिक कार्ययोजना बनाउने भएका छन् ।
जिल्ला संघले योजना निर्माणका लागि सातवटै स्थानीय तहका इकाइ समितिका पदाधीकारीहरुलाई तीन दिने तालिम पनि दिएको छ । शनिबार संविधान सभाका पूर्व सदस्य तथा संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द चेपाङको प्रमुख आतिथ्यमा गोष्ठीको समापन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोविन्द चेपाङले सिंहदरबारको अधिकार गाउँगाउँमा आएको बेलामा चेपाङ समुदाय पनि जागरुक भएर अधिकार लिनु पर्ने बताए । ‘जति जागरुक हुन्छौं हामीले त्यति नै अधिकारहरु पाउने हो । व्यवस्था परिवर्तन भए पनि पार्टी र नेता पुरानै हुन् । हामीले नमागेसम्म कसैले हामीलाई दिनेवाल छैन । त्यसैले जागरुक हुनु पर्दछ’ प्रमुख अतिथि गोविन्दले भने ।
संघका पूर्व केन्द्रीय महासचिव सन्तबहादुर चेपाङले सहभागिहरुलाई तालिम दिएका थिए । ‘योजना कसरी छनौट हुन्छ । कहाँ माग गर्ने होे, कति बेला माग गर्नेे हो भन्ने जता निश्चित नियम र विधिहरु छन् । हामी यी विषयमा जागरुक हुनु पर्दछ । यी विषयहरुका बारेमा चेपाङ अगुवाहरुलाई जानकारी दिन खोजिएको हो’ स्रोत व्यक्ति सन्तबहादुरले भने ।
नेपाल चेपाङ संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष लक्ष्मण चेपाङले जिल्लाका सातवटा स्थानीय तहमा चेपाङ समुदायका फरक फरक समस्या र सवालहरु रहेको बताए । ‘त्यसैले आफ्ना स्थानीय तहका समस्या र सवालहरु पत्ता लगाएर समुदायको उत्थानका लागि योजना बनाउन हामीले यो तालिम आयोजना गरेको हो । पाँच वर्षे रणनीतिक योजना बनाएर लागे हाम्रा धेरै समस्या निराकरण हुने छन्’ अध्यक्ष लक्षमण चेपाङले भने ।
चेपाङहरु सिमान्तकृत वर्गमा पर्ने नेपालको अल्पसंख्यक आदिवासी समुदाय हुन् । उनीहरु चितवनसहित मकवानपुर, धादिङ र गोरखा जिल्लाको पहाडी क्षेत्रमा बस्दछन् । उनीहरु अनेकौं समस्याले घेरिएका छन् । शिक्षा, स्वास्थ्य र सडक सञ्चार जस्ता आधारभुत खालका सुविधा पनि उपभोग गर्न नपाउने अवस्था छ । त्यसैले चेपाङ समुदायालाई जागरुक बनाएर देशकै उन्नति र प्रगतिमा साथ दिन खोजेको चेपाङ अगुवाहरु बताउँछन् । चितवनमा मात्रै ४० हजारको हाराहारीमा चेपाङहरुको बसोबास छ ।