चितवन विशेष
भरतपुरमा बोस्टन फिस्टाः कलेजभित्रै व्यापारिक स्टल र दर्जन कलाकारको प्रस्तुति
चितवन, साउन ११-
भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा अहिले बोस्टन फिस्टाको रौनक छाएको छ ।
प्रायजस्तो पढ्न र पढाउन व्यस्त रहने कलेजका विद्यार्थीहरु र प्राध्यापकहरु अहिले बोस्टन फिस्टाको व्यवस्थापन गर्नमा व्यस्त छन् । कलेजलाई म्युजिक कन्सर्टहरु हुने रंगशालाजस्तै सिंगारिएको छ । विद्यार्थीहरु विभिन्न नृत्य र गायनको लागि कक्षाकोठाभित्र अभ्यासरत देखिन्छन् । विद्यार्थीहरु आफैँ विज्ञापन खोज्नेदेखि टिकट बेच्ने तथा स्टेज निर्माण र कलाकारहरुलाई स्वागत गर्न व्यस्त देखिन्छन् । कलेजका एशोसिएट डाइरेक्टर पुष्पराज अधिकारीले विद्यार्थीहरुमा आपसमा मिलेर टिममा काम गर्ने क्षमताको विकास गर्नलाई यसप्रकारको फिस्टा अर्थात् महोत्सवको आयोजना गरिएको बताए । उनले भने, ‘सधै पढ््ने, खाने, सुत्ने, दिक्दारी, जीवन शैलीलाई फरक पन दिनको लागि कलेजमा हरेक वर्ष यसप्रकारको फिस्टा आयोजना गरिएको छ । यसले कलेजका सम्पूर्ण विद्यार्थीहरुमा सामाजिकीकरण गर्न सहयोग पुर्याउँछ ।’
कलेजका विद्यार्थीहरुको व्यवस्थापनमा आयोजित बोस्टन फिस्टाको यो दोस्रो संस्करण हो । कलेजका एमबीए कार्यक्रम निर्देशक ऋषि चपागाईँले अघिल्लो संस्करणको तुलनामा कार्यक्रमको शैलीमा केही परिवर्तन ल्याइएको बताए । अघिल्लो फिस्टा एक दिनको थियो भने अहिले फिस्टाको समयलाई थप दुई दिन थप गरिएको उनले बताए । राष्ट्रिय कलाकारहरु पनि यसपटक ल्याइएको उनले जानकारी दिए । चापागाईँले भने, ‘ कार्यक्रम पूर्णरुपमा विद्यार्थीहरुको व्यवस्थापनमा चलिरहेको छ । हामी भने सहजकर्ताको रुपमा मात्र यहाँ खटिएका छौं । ’
बोस्टन फिस्टामा विभिन्न कम्पनीका ३५ वटा स्टलहरु रहेका छन् । सीएफमोटो मुख्य प्रायोजक रहेको फिस्टामा तीन हजार टिकट बुकिङ भइसकेको कलेजका कार्यक्रम अधिकृत एक्सन रोबर्ट लौडारीले जानकारी दिए । उनले भने, ‘कलेजभित्र गरिने यस्तो फिस्टाले विद्यार्थीले कक्षा कोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न फिस्टा राम्रो अवसर भएको छ ।’ कार्यक्रमबाट विद्यार्थीले उठाएको साधनस्रोतमा केही रकम बचेमा सो रकम विद्यार्थीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममा खर्च गर्ने उनले बताए ।
विद्यार्थीहरुलाई नृत्य र गीतमा प्रशिक्षण दिइरहेकी कोच सबिना सडौंला एक हप्ता अघिदेखि कार्यक्रमका लागि दिनको १० घण्टा बढी खटिरहेकी छन् । आजको कार्यक्रममा कलाकारहरु कमल खत्री, प्रकाश सुपुत, अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिइरहेका छन् । त्यसैगरी फिस्टामा अपूर्व क्षितिज सिंह, सुजन जिम्बा, आयुस श्रेष्ठ, डीजे डिमास, डीजे आसिस र अली ब्रदरर्सले आफ्नो प्रस्तुति दिनेछन् । शुक्रबार उद्घाटन भएको फिस्टा भोलि समापन हुँदै छ ।
कलेजका कार्यकारी निर्देशक राजु लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान, शिक्षाविद् रमाकान्त सापकोटा, क्षेत्रीय होटल संघ सौंराहाका अध्यक्ष सुमन घिमिरे, युवा उद्यमी मञ्चका अध्यक्ष दाताराम घिमिरे, जिल्ला प्रहरी कार्यालयका ट्राफिक प्रमुख चन्द्र गिरीले फिस्टाले विद्यार्थीमा व्यवहारिक ज्ञान दिने भन्दै प्रशंसा गरेका थिए । फिस्टामा कलेजका विद्यार्थीले दुई दर्जन गीत र नृत्य प्रस्तुत गर्दै छन् । प्रवेश शुल्क १५० रुपैयाँ राखिएको छ ।