चितवन विशेष
चेकजाँचलाई कडा बनाउँदै चितवन ट्राफिक,चोरीको मोटरसाइकल फेला पार्दे बुझाउँदै
चितवन,साउन १०-
चितवन ट्राफिकले जिल्लामा सवारीसाधन चेकजाँचलाई थप कडाई गर्दै लैजान थालेको छ । लाइसेन्स र अन्य आवश्यक कागजात नहुने सवारी साधनलाई कारवाही गरेको ट्राफिकले चोरीको मोटरसाइकललाई पनि विशेष निगरानी राख्न थालेको । पछिल्लो समय ट्राफिकले चोरीको मोटरसाइकल समात्दै सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउन थालेको छ ।
ट्राफिकले जिल्लामा संचालन गरेको नियमित चेकिङ्ग मार्फत चोरीको मोटरसाइकल समातेर आज (शुक्रवार) सम्बन्धित व्यक्तिलाई बुझाएको छ । असार २६ गते गैडाकोटबाट हराएको ना ३८ प ८४३७ नम्वरको पल्सर मोटरसाइकल ट्राफिक प्रहरीले ३० गतेको नियमित चेकजाँचका क्रममा भरतपुरबाट नियन्त्रणमा लिएको थियो । भरतपुर महानगरपालिका ४ विशाल चोक लंकुका मोहन आलेको नाममा रहेको मोटरसाइकल गैडाकोटबाट हराएको थियो ।
ट्राफिकले मोटरसाइकल भेटेर जिम्मा लगाएपछि आफू निकै खुसी भएको आलले बताए । उनले भने,‘ट्राफिक प्रहरीको गुन भुल्ने छैन,आगामी दिनमा ट्राफिकलाई सहयोग गर्नेछु ।’ उनले ट्राफिकको अभियानलाई साथ दिनुपर्ने बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र गिरीले ट्राफिकको नियमित चेकजाँचका क्रममा मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको बताए । उनले ट्राफिकले जिल्लामा संचालन गरिरहेको अभियान प्रभावकारी बन्दै गएको जानकारी दिए ।