नवलपुर

गैडाकोट १६ का अध्यक्ष  ज्ञवालीद्धारा आफ्नो पारिश्रमिक सामाजिक काममा सहयोग

Banner

ज्ञानु पंगेनी

नवलपुर ,  साउन १०-

गैडाकोट नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष गोबद्र्धन ज्ञवालीले आफ्नो एक वर्षको पारिश्रमिक विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरेका छन ।

अध्यक्ष ज्ञवालीले पारिश्रमिक वापतको एक लाख २० हजार रुपैया बराबरको सहयोग प्रदान गरेका हुन । शुक्रवार गैडाकोट १७ मा रहेको अमरज्योती माविमा औपचारिक कार्यक्रमको आयोजना गरेर सोहि विद्यालयलाई ४५ हजार रुपैया बराबरको एक थान कम्प्युटर हस्तान्तरण गरे । त्यस्तै उनले वडामा रहेको अमरापुरी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर स्थापना गर्न नगद ४० हजार रुपैया अमरापुरी बर्थिङ्ग सेन्टर आमा समूहकी अध्यक्ष लक्ष्मी सापकोटालाई हस्तान्तरण गरेका हुन । यस्तै वडा कार्यलय नजिकै रहेको दुर्गा मन्दिरका लागि पङ्खा लगायतका विभिन्न सामाग्री सहयोग गरेका छन । उक्त सामाग्री मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले जनताको करबाट संकलन गरेको रकम जनताकै लागि खर्च गर्ने सोच रहेको हुदा सामाजिक काममा सहयोग गरेको बताए । ‘ जनताका लागि काम गर्छु भनेर चुनिएका जनप्रतिनिधिहरुले जनताकै करबाट संकलन गरेको रकम तलबका रुपमा लिनुहुदैन भन्ने मेरो मान्यता छ । कार्यपालिका वैठकमा पनि मैले पटक पटक यो कुरा उठाए तर अन्य जनप्रतिनिधीहरु मानेनन । म एक्लै भए । तर मैले पाएको पारिश्रमिक सामाजिक काममै खर्च गर्छु भन्ने अठोट गरेको छु । ’ ज्ञवालीलले भने

अध्यक्ष ज्ञवालीले गत वर्ष पनि विभिन्न सामाजिक क्षेत्रमा पारिश्रमिक सहयोग गरेका थिए । उनले आफ्नो पारिश्रमिक आफ्नी दिवङ्गत छोरी विस्विता ज्ञवालीको नाममा सहयोग गर्दै आएका छन । विस्विताको चार वर्ष अघि नारायणी नदिमा सेल्फी लिन खोज्दा डुबेर मृत्यु भएको थियो । छोरीलाई डाक्टर बनाउने सपना बोकेका उनले छोरी जिवित नभए पनि उनको पढाई खर्चमा लाग्ने रकमका रुपमा आफ्नो पारिश्रमिक सामाजिक काममा सहयोग गर्ने सोच बनाएको बताए । आगामि वर्षको पारिश्रमिकले अक्षय कोष खडा गर्ने योजना बनाएको समेत उनले जानकारी दिए ।

वडा नम्बर १६ मा एउटा पनि सामुदायिक विद्यालय नभएकाले १७ नम्बरमा रहेको अमरज्योती माविलाई उनले सहयोग गरेको बताए । विद्यालय स्थापना गर्न आफुले पनि रगत पसिना बगाएको हुदा सहयोग पनि गरेको उनको भनाई छ ।

कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिरालाल सापकोटाको अध्यक्षता तथा १६ का वडा अध्यक्ष ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा सदस्यहरु , स्थानीय समाजसेवि , बुद्धिजीवी , विद्यालयका प्रध्यानाअध्यापक दूर्गादत्त सापकोटा लगायतको सहभागिता रहेको थियो ।

यसैबिच सोहि कार्यक्रममा विद्यालयका जेहेन्दार तथा विपन्न १ सय ३९ जना छात्रछात्रालाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>