चितवन विशेष

बाइपास सडक विस्तारमा ढिलासुस्तीः साढे २ किलोमिटर सडक तीन बर्षमा ४५ प्रतिशत

Banner

चितवन,साउन १०-

ठेकेदार र सडक डिभिजन कार्यालय भरतपुर बीच भएको सम्झौतालाई आधार मान्ने हो भने भरतपुर बाईपास रोड विस्तारको काम डेढ बर्ष अघि नै सकिनु पर्ने हो । तर, अहिले चिल्ला सडकमाथि गाडी गुडिरहनुपर्ने समयमा आपटाँडी केन्द्रिय बसपार्क सडक खण्डमा सब–बेस (ग्राभेल)को काम समेत पुरा गरिएको छैन । साघुँरो सडकमा सवारी साधनहरु गुडीरहेका छन् ।

‘भरतपुरको बाइपास रोड विस्तारको काम गत चैतमै सकिनुपर्ने हो । थपिएको १५ महिनाको म्याद पनि २०७६ असार २५ गते सकिएको छ,’ सडक डिभिजन कार्यालय भरतपुरकी ईन्जिनियर गीताञ्जली कोईरालाले भनिन्, ‘अहिले सम्म सडक विस्तारको काम ४५ प्रतिशत मात्र भएको छ ।’ उनका अनुसार अहिले सव ग्रेडबाट माथिको काम बाँकी छ ।

गौरी पार्वती निर्माण सेवा कम्पनिले २०७३ पुस १९ गते २०७४ चैत्र १८ गते सक्ने गरी निर्माणको जिम्मा ल्याएको थियो । सो मितिमा पनि काम नसकिएपछि गत असार २५ गते सम्म म्याद थप गरिएको उनले जानकारी दिईन । म्याद सकिएपछि सडक विस्तारको काम रोकिएको छ । म्याद थप गर्नका लागि विभागमा निर्माण कम्पनी र सडक डिभिजन कार्यालयले ताकेता गरेको छ । ‘बाईपास रोड विस्तारको काम सकिएको छैन् । काम कति भएको छ । तपाईले बाहिर हरे पनि थाहा पाईहाल्नुहुन्छ,’ ईन्जिनियर कोईरालाले भनिन्, ‘थप गरेको मितिमा काम नसकिएपछि म्याद थपको लागि सडक विभागमा फाईल पठाएका छौँ ।’

भरतपुरको आँपटारी देखि केन्द्रिय बसपार्क सम्मको २ दशमलव ५ किलोमिटर सडकलाई १४ मिटर फराकिलो बनाईदै छ । त्यसका लागि १२ करोड ८२ लाख ८१ हजार रुपैयाँमा ठेक्का लगाईएको थियो । अहिले सम्म ५ करोड १३ हजार रुपैयाँ निर्माण कम्पनीले भुक्तानि पाएको छ । विस्तार हुन लागेको भरतपुर बाईपास रोडको सडक ४ लेनको बन्दै छ ।

नारायणगढको पुलचोक हुँदै आँपटारी सम्म पुग्ने सडक विस्तार गर्न बजारका कारण असम्भव भएपछि दुई राजमार्गलाई जोड्ने गरेर भरतपुर बसपार्क देखि आँपटारी सडक फराकिलो बनाउन लागिएको थियो । तर, सडक विस्तारको म्याद थप गर्दा समेत आधा पनि काम हुन सकेको छैन । सडक डिभिजनका कर्मचारी र निर्माण कम्पनीले भने विभिन्न बाहाना बनाएर सडक विस्तारको काम गर्दै छन् । ‘सडक क्षेत्र भित्र पर्ने बिजुलीको पोल सार्ने र रुख काट्ने स्वीकृति समयमा नआउँदा काममा ढिलाई भएको हो ।’ ईन्जिनियर अधिकारीले भनिन्, ‘अहिले हामीले एक बर्ष म्याद थप गर्नका लागि सडक मन्त्रालयमा फाईल पठाएका छौँ ।’

यस सडक अन्तरगत बिजुलीका तीन सय, टेलिकमका ८८ वटा पोल र ९६ वटा रूख काट्नपुर्ने थियो । बिजुली र टेलिकमका पोल सार्न ढिला भएको भन्दै यस अघि डेढ बर्ष म्याद थप गरिएको थियो । फेरी पनि पोल र रुख कारण देखाएर म्याद थप गर्ने तयारी गरिएको छ ।

यो सडकले पुर्व पश्चिम राजमार्ग र नारायगढ मुग्लिन सडकलाई जोड्ने छ । तर, समयमा सडक विस्तार नहुँदा सर्वसाधारणले समेत सास्ती खेप्दै आएका छन् । अहिले सडक साँघुरो हुँदा दैनीक सवारी दुर्घटना समेत हुने गरेको छ । ‘अफिस जानको लागि बाईपास रोडकै सडक प्रयोग गर्नुपर्छ । यहाँ ठुल्ठुला सवारी साधान गुड्छन् । सडक साँघुरो छ,’ भरतपुर ११ की शिवकुमारी घलेले भनिन्, ‘कति खेर पछाडीबाट गाडीले हान्ने हो भन्ने डर मात्र हुन्छ । दुई वर्ष भैसक्यो सडक विस्तारका कारण सडकमा हिड्न पनि मुस्किल छ ।’

सडक विस्तार संगै निर्माण कम्पिनिले ढल समेत निर्माण गर्नुपर्ने छ । ढलको काम पनि पुर्ण रुपमा सम्पन्न नभएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । बाईपास रोड आसपासमा नै बढि सरकारी कार्यालय भएका कारण सेवाग्राहीले समेत सास्ती खेपेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>