खेलकुद
चितवनमा खेलाडीलाई खेलकुद सामग्री
चितवन, साउन ९-
चितवनमा सम्पन्न ११औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका खेलाडीहरुलाई पोशाक वितरण गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति चितवनको आयोजनामा जिल्लाका एक सय जना खेलाडीहरुलाई ट्रयाक सुट वितरण गरिएको छ । उद्योग संघ चितवनको सहयोगमा समितिले पोशाक वितरण गरेको हो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले उद्योग संघको ५० थान तथा खेलकुद विकास समितिको ५० थान गरी पोशाक वितरण गरिएको बताए ।
३ नम्बर प्रदेश स्तरीय खेलकुद विकास समितिका कारण यस पटकको राष्ट्रपति रनिङ शिल्डको राष्ट्रिय प्रतियोगितामा ३ नम्बर प्रदेशले सहभागिता जनाउन नपाएको प्रति लामाले खेद प्रकट गरेका छन् । केही प्राविधिक त्रुटीका कारण ३ नम्बर प्रदेशले सहभागिता जनाउन नपाएको उल्लेख गर्दै लामाले अर्को वर्षका लागि राम्रो तयारी गरेर अगाडि बढ्नुपर्ने बताए ।
११औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता भएका विद्यालयलाई सोही कार्यक्रम मार्फत प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका निवर्तमान अध्यक्ष एवम् ३ नम्बर प्रदेश स्तरीय खेलकुद विकास समितिका सदस्य उत्तम गुरुङले यस पटक जिल्लाको खेलकुद गतिविधिमा राम्रो सुधार भएको बताए । जिर्ण बन्दै गएको कबर्ड हल मर्मत सम्भार हुनु, खेलाडीलाई प्रोत्साहन गरिनुजस्ता कामले खेलकुदको विकासमा राम्रो संकेत मिलेको बताए । यसैबीच, जिल्ला खेलकुद विकास समिति चितवनले जिल्लाको खेलकुद गतिविधिमा महत्वपूर्ण सहयोग गरेको भन्दै जिल्लाका १० वटा विभिन्न खेल संघहरुलाई १० हजारका दरले रकम प्रदान गरेको छ ।
खेलकुद विकास समिति चितवनले सितेरियो कराँते संघ, नेपाल तेक्वान्दो संघ, राष्ट्रिय तेक्वान्दो संघ, एथलेटिक्स संघ, मुवा थाई संघ, बक्सिङ संघ, भलिबल संघ, जापान गुजेरियो कराँते संघ, बुद्धिचाल संघ र फुटबल संघलाई खेलकुद सामग्रीका लागि सवलिकरण गर्न भन्दै १० हजार रुपैयाँका दरले रकम प्रदान गरिएको कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिए ।