चितवन विशेष
लुम्विनी क्षेत्रमा बुद्धको मूर्ती तोेडफोडविरुद्ध चितवनमा विरोध र्याली (फोटो फिचरसहित )
निशा श्रेष्ठ
चितवन, साउन ९-
रुपन्दहीको तिलोत्तमा नगरपालिकामा भएको बुद्ध मूर्ती तोडफोडको विरुद्धमा चितवनमा आज विरोध र्याली निस्किएको छ ।
आज नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्तिचक्र संघ चितवन , बौद्ध गुम्बाविहार संघ , नेपाल तामाङ घेदुङ चितवन, बौद्ध धर्म सेवा समितिले सो र्याली गरेको हो । उनीहरुले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत् प्रधानमन्त्री केपी ओलीमार्फत् केपी शर्मा वलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
त्यस्तै ठूलो संख्यामा आफ्नो पहिचानको पोशाकमा निस्केका बौद्ध धर्मावलम्बीहरुले ‘बुद्ध हाम्रो प्राण हो, नेपाल हाम्रो शान हो र बुद्धको मूर्ती तोड्न पाइँदैन’ जस्ता नारा लगाउँदै बुद्धको मूर्ती तोड्नेलाई कारबाहीको माग गरेका थिए । त्यस्तै उनीहरुले विभिन्न बुद्धका सन्देश बोकेका पम्पलेटहरु पनि बोकेका थिए । उनीहरुको ज्ञापनपत्रमा हरेक नेपालीको आफ्नो आस्था विचार धर्म मान्न पाउनु अधिकार रहेको भन्दै यस्तो अधिकार कुल्चने प्रयास भएकाले घटनाको भत्सर्ना गरेका छन् ।
आज बुद्धको मूर्ती तोड्नेले भविष्यमा अन्य धर्म आस्थामा पनि आक्रमण हुन सक्ने भएकाले यस्तो दुःखद घटनामा सबै एक हुनुपर्ने बताइएको छ । त्यस्तै बुद्धको मूर्ती तोडफोड गरी हिंसा भड्काउनेलाई सरकार संघ, प्रदेश तथा प्रहरी प्रशासनसँग कारबाहीको माग गरिएको छ । यही साउन १ गते राति रुपेन्देहीको तिलोत्तमा नगरपालिका स्थित शंकरनगरचोकदेखि नयाँ मिलसम्मको ६ लेनको सडकमा राखिएका पाँच वटा मूर्तीहरु तोडफोड गरी फालिएको थियो ।