चितवन विशेष

चिनियाँ प्राध्यापकले अवलोकन गरे चितवनको दासढुंगादेखि गाँजीपुरसम्म

Banner

चितवन, साउन ८-

चिनिया प्राध्यापक झाङ सुविनले चितवनको दासढुंगादेखि गाँजिपुरसम्म अवलोकन गरेका छन् ।

प्राध्यापक झाङले राष्ट्रपति कार्यालयका विज्ञ समूह सदस्य माधव शर्मासहितको टोलीमा समावेश भएर सो क्षेत्रको अध्ययन अवलोकन गरेका हुन् । मदन भण्डारी फाउण्डेसन चितवनको संयोजनमा मंगलबार उक्त क्षेत्रको अवलोकन गरिएको थियो । तत्कालिन नेकपा (एमाले) का महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा निधन भएको स्थल दासढुंगा हुँदै मदन भण्डारीको शव प्राप्त भएको स्थान गाँजीपुरसम्म उनीहरु वर्षामा छाता ओडेर नै पुगेका थिए । सो अवसरमा टोलीले काभ्रेघाटमा निर्माण भइरहेको क्रुजको पनि अवलोकन गरेको थियो ।

अवलोकनका क्रममा आयोजित छलफल कार्यक्रममा फाउण्डेसनका जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराईले यस क्षेत्रको विकासका लागि गरिएका कामहरुको बारेमा प्रकाश पारेका थिए । डा भट्टराईले दासढुंगादेखि गोलाघाटसम्मको एकीकृत विकास गर्न नारायणी एकीकृत विकास परियोजनाको अवधारणा ल्याइएको जानकारी दिए । सोही अवधारणा अनुसार उनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम भइरहेको जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य देवी ज्ञवालीले नेपालको कम्युनिस्ट आन्दोलन र मदन भण्डारीका बारेमा जानकारी दिएका थिए । चीनको हेवेई विश्वविद्यालयअन्तर्गत अर्थशास्त्र र व्यापार विश्वविद्यालयको नेपाल स्टडी सेन्टरका प्राध्यापक सुविनले डीपीआर तयार भएपछि फाउण्डेसनले दासढुंगा र गाँजीपुरमा निर्माण गर्ने अध्ययन केन्द्रका लागि आवश्यक सहयोग उपलब्ध गराउन पहल गर्ने बताए । उनले सम्पूर्ण कोरिडोरलाई मदन भण्डारीको नामसँग जोडेर आर्थिक विकास गर्नुपर्ने बताए ।

अवलोकन तथा छलफल कार्यक्रममा सुविनसहित राष्ट्रपति कार्यालयका विज्ञ समूह सदस्य माधव शर्मा, राष्ट्रपति कार्यालयका सचिवालय सदस्य खेमचन्द्र ढकाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य देवी ज्ञवाली, प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल, फाउण्डेसनका जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराई, फाउण्डेसन प्रदेश सदस्य केशव रेग्मी, फाउण्डेसन चितवनका सचिवालय सदस्य राजु पौडेललगायतको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>