गण्डकी
दोर्दी खोला जलविद्युत आयोजनाले प्रभावितलाई पेल्दै
लमजुङ, साउन ७–
लमजुङमा निर्माणाधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाले प्रभावितलाई पेल्ने र गलाउने रणनीति लिएको छ ।
मंगलबार प्रभावितलाई आफैले वार्तामा बोलाएर आयोजना प्रमुखले प्रभावितलाई हकारेर पठाएका छन् । वेसीशहर नगरपालिका–११ चितिको रामचोकवेसीमा रहेको आयोजनाको कार्यालयमा वार्ताका लागि गएका ६ जना प्रभावितलाई आयोजना प्रमुख गुरुप्रसाद ढकालले हकारेर पठाएका हुन् ।
उनले ठाडो भाषामा संघर्ष समितिलाई चिन्दिन भनेको प्रभावित मध्येका एकजनाले बताए । ढकालको भनाइलाई उद्त गर्दै उनले भने, ‘संघर्ष समिति र संघर्षसमिति मार्फत आउने प्रभावितलाई चिन्दिन । कि निर्वाचित जनप्रतिनिधिमार्फत आउनुस् । कि आयोजना र निर्वाचित प्रतिनिधिसहितको सरोकार समितिमार्फत् आउनुस् । संघर्ष समितिमार्फत आउनेलाई हामी मान्दैनौँ भन्नुभयो’ । उनले त्यति भनेपछि प्रभावितहरू बिचैमा उठेर हिँडेका थिए ।
प्रभावितहरुको संघर्षसमितिले पटक–पटक ध्यानाकर्षण गराएको छ । तर, आयोजना प्रमुखले टेरपुच्छर लगाएका छैनन् । आफुहरुका माग सुनुवाई नभएको भन्दै स्थानीय प्रभावित आन्दोलित छन् । गएको शनिबार मात्रै उनीहरुले पत्रकार सम्मेलन गरेर आयोजनाको काम अवरुद्ध पारेका छन् । उनीहरुले ८ बुँदे माग राखेर आन्दोलनलाई जारी राखेका छन् । उनीहरूले १३ सदस्यीय संघर्ष समिति गठन गरी पटक–पटक आयोजनाको ध्यानाकर्षण गराएको उल्लेख गरेका छन् ।
आफ्नो आन्दोलनको पहिलो चरण समाप्त भएको र त्यो अवधिमा कुनै सुनुवाई नभएकाले शनिबार दोस्रो चरणको आन्दोलन घोषणा गरेको प्रभावितहरुले बताए । संघर्ष समितिका सचिव जुद्धबहादुर थापाका अनुसार वातावरण प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाईमा गरिएको प्रतिवद्धता अनुसार आयोजनाले काम नगरेको र आफूहरू थप पीडित भएको बताए । उनले यो आयोजनाले जिल्लाका नेताहरूले जे जे भन्यो त्यही गर्ने गरेको र आफूहरूलाई सताउने गरेको बताए ।
जिल्लाका राजनीतिक दलका प्रमुखले पाँच वर्ष अघि लमजुङ जिल्लालाई जलविद्युतमा लगानी मैत्री जिल्ला बनाउने भन्दै संयुक्त प्रतिवद्धता जनाएका छन् । तर, अहिले दलको आडमा आयोजनाले प्रभावितमाथि डण्डा बर्साउन खोजिरहेको प्रभावितहरुको भनाई छ । सो क्रममा प्रतिवद्धता जनाउने नेताहरु मौन छन् । यो आयोजनाको प्रवद्र्धक कम्पनी हिमालयन हाइड्रो पावर पार्टनर लिमिटेड हो । यो आयोजनामा आईएमई ग्रुप र एनआरएनएको संयुक्त लगानी छ ।