चितवन विशेष
पानीमा रुझ्दै रंगशाला निर्माणमा पुनः जुटे धुर्मुस (फोटोसहित)
चितवन, साउन ७-
चितवनमा दुई महिनाअघि देखी अवरुद्ध भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम आजबाट पुनः सुरु भएको छ ।रंगशाला निर्माणको काम गरिरहेको धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले आज पुनः रगंशाला निर्माणको काम सुरु गरेका हुन् । धुर्मसले विहान झरीमा रुजेरै रंगशाला निर्माणको काम थाले । रंगशाला निर्माणमा खटिएका अध्यक्ष धुर्मसले बेल्चा, गल र रड बोकेर रंगशाला निर्माणको काम अघि बढाएको सन्देश दिए । उनलाई चितवन क्षेत्र नः २ ‘ख’ का प्रदेश सभाका सांसद विजय सुवेदीले साथ दिए ।
रंगशाला निर्माणका मजदुरहरु पनि आजैबाट काममा खटिएका छन् । बन्द रहेको फाउण्डेशनको साइट कार्यालय पनि खोलिएको छ । फाउण्डेशनका निर्माण सम्वद्ध कर्मचारीहरु यहि कार्यालयमा बसेर थप कामलाई अघि बढाउने फाण्डेशनका अध्यक्ष कट्टेलले बताए । निर्माणमा खटिने थप कामदारहरु मंगलवार साँझसम्म साइटमा आइपुग्ने उनको भनाइ छ । रंगशाला निर्माणस्थलको सुरक्षाका लागि प्रहरी नायव निरीक्षक नारायण श्रेष्ठको नेतृत्वमा ६ जना प्रहरीलाई परिचालन गरिएको छ ।
स्थानीयको एक समूहले गत जेठ १५ गते डोजर लगाएर रंगशालाको बार भत्काएको र कामदारलाई धम्की आएको भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनले अनिश्तिकालका लागि भन्दै काम रोकेको थियो ।