गण्डकी
गुल्मीमा पहिरो, पुरिएर ६ जनाको ज्यान गयो
गुल्मी, साउन ७–
गुल्मीमा छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले जानकारी दिए । उनका अनुसार, सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ ।
त्यस्तै, सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती–४ कि १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएको प्रहरीले जनाएको छ ।