चितवन विशेष
सक्रिय बन्दै चितवन ट्राफिक, लाइसेन्स र कागजपत्र नहुने अटो म्याजिक कारवाहीमा
चितवन,साउन ४-
पछिल्लो समय ट्राफिक व्यवस्थापनमा चितवन ट्राफिक सक्रिय बन्दै गइरहेको छ । ट्राफिक प्रहरीले सवारीसाधनको चेकजाँचलाई तिब्रता दिएसंगै अटो र म्याजिकका चालक धमाधम कारवाहीमा पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले संयुक्त रुपमा दुई दिनको अवधिमा गरेको चेकजाँचमा ४९ जना कारवाहीमा परेका छन् ।
लाइसेन्स, विलबुक र रुट परमिट नभएकाहरुलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र गिरीले जानकारी दिए । ‘हामीले पटक÷पटक सम्झाएर पठाएका छौं,उनले भने १५ सय मात्र जरिवानाले पनि उनिहरुले अटेर गरेपछि थप जरिवानाका लागि यातायात सेवा कार्यालय भरतपुरमा सिफारिस गर्ने गरेका छौं ।’ यातायात सेवा कार्यालयले ५ हजारदेखि १५ हजारसम्म जरिवाना गर्नसक्ने प्रवधान रहेको गिरीले बताए । आज सोमबार मात्रै २९ वटा सवारीसाधनबाट ८७ हजार रुपैंयाँ राजश्व संकलन भएको उनले जानकारी दिए ।