समाचार

नेपालमा इन्टरनेट प्रयोगकर्ता बढे, झण्डै दुई करोड नागरिक इन्टरनेटको पहुँचमा

Banner

काठमाडौं, साउन ६-

नेपालमा एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ता ४३ लाख ६० हजार भन्दा बढी थपिएका छन् ।

२०७५ वैशाखसम्म एक करोड ४३ लाख इन्टरनेट प्रयोगकर्ता रहेकोमा २०७६ वैशाखसम्म सो संख्या एक करोड ८६ लाख पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म देशका ६३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् । तर, कतिपय एकै व्यक्तिले दोहोरो रुपमा गरिरहेको इन्टरनेट प्रयोग गरिरहेकाले यो तथ्यांक केही कम हुन सक्छ ।

प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार इन्टरनेट फिक्स्ड ब्रोडब्यान्ड र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या उच्च दरमा बढिरहेको देखिन्छ । हालसम्म जनसंख्याको अनुपातमा ४९ प्रतिशत जनता मोबाइलमा इन्टरनेट चलाउँछन् । त्यसमा सबैभन्दा धेरै थ्रीजी सेवा प्रयोगकर्ता छन् । एक करोड ९ लाखले थ्रीजी सेवा लिएका छन् । थ्रीजीमा ६८ लाखले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका छन् भने एनसेलबाट ४० लाख प्रयोगकर्ता दर्ता छन् ।

यसैगरी फोरजीका ३६ लाख १२ हजार प्रयोगकर्ता छन् । त्यसमा झण्डै २६ लाख ७५ हजार प्रयोगकर्ता एनसेलको मात्रै छन् । पहिलोपटक आफैंले सेवा सुरु गरेको नेपाल टेलिकमले उपत्यका र पोखराबाहेकका क्षेत्रमा फोरजी सेवा विस्तारमा ढिलाइ गरेपछि एनसेल टेलिकमभन्दा उच्च संख्यामा फोरजी ग्राहक बटुल्न सफल भएको छ । टेलिकमसँग जम्मा सात लाख ६२ हजार मात्रै फोरजीका प्रयोगकर्ता छन् ।

स्मार्ट टेलिकमले पनि एक लाख ७४ हजार फोरजी प्रयोगकर्ता बनाइसकेको छ । मोबाइल ब्रोडब्यान्डमा ई–भिडियो प्रयोग गर्नेहरु एक लाख ३६ हजार छन् । तारसहितको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्नेको संख्या देशमा करिब ६३ लाख ८० हजार छन् । दूरसञ्चार प्राधिकरणका अनुसार यस्तो एउटा इन्टरनेट कनेक्सनमा औसत पाँच जना प्रयोगकर्ता हुन्छन् ।

फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या गतवर्षको भन्दा आठ लाख ३६ हजारभन्दा बढीले वृद्धि भएको छ । यस्तो सेवा लिनेको संख्या कुल जनसंख्याको १२ प्रतिशत बढी छ । फिक्स्ड ब्रोडब्यान्डमा हाल इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरु अग्रपंक्तिमा छन् । आईएसपीहरुले २६ लाख २९ हजार प्रयोगकर्ता बनाएका छन् । नेपाल टेलिकमको एडीएसएल सेवा प्रयोग गर्नेको संख्या १० लाख ३५ हजार छ भने एफटीटीएच सेवामा जम्मा १५ हजार प्रयोगकर्ता आवद्ध छन् ।

यसैगरी तीन लाख ५० हजार तहाररहित फिक्स्ड इन्टरनेट प्रयोगकर्ता छन् । त्यसमा पनि वाईफाइ (रेडियो)को प्रयोगकर्ताको संख्या दुई लाख ६१ हजार छ भने ८७ हजारले वाईम्याक्स प्रयोग गर्छन् । समग्रमा हेर्दा हाल ७९ प्रतिशत बजार मोबाइल ब्रोडब्यान्डले ओगटेको छ । १९ प्रतिशत बजार तारसहितको फिक्स्ड इन्टरनेट लाइनमा छ । ताररहित इन्टरनेटको बजार भने दुई प्रतिशत मात्रै देखिन्छ ।

इन्टरनेट सेवा प्रदायकका अनुसार गणना गर्दा ८८ लाख ७८ हजार प्रयोगकर्ता नेपाल टेलिकमसँग आवद्ध छन् । टेलिकमले मोबाइल (टुजी, थ्रीजी र फोरजी) सहित एडीएसएल, एफटीटीएच, वाइम्याक्स र ई–भिडियोसहितको सेवा प्रदान गर्छ । यसैगरी थ्रीजी र फोरजी सेवा मात्रै दिइरहेको एनसेलसँग ६७ लाख ४१ हजार इन्टरनेट प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमले पनि एक लाख ७४ हजारलाई मोबाइलबाटै फोरजी इन्टरनेट सेवा दिँदैछ । आईएसपीहरुले वाईफाई र एफटीटीएच गरी २८ लाख ९१ हजार प्रयोगकर्ता बनाएका छन् । यी प्रयोगकर्ताको प्रत्येक कनेक्सनमा पाँच जनाले सेवा लिने गरेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>