चितवन विशेष
माडीमा सामूहिक खेतीः ७० प्रतिशत धान रोपाईँ सकियो
चितवन, साउन ५-
चितवनको माडीमा सामूहिक खेतीका लागि चक्लाबन्दी गरिएको जग्गामा धमाधम रोपाईँ भइरहेको छ । रोपाईँमा स्थानीय कृषकहरुको बाक्लो उपस्थिती रहेको छ । सामूहिक खेतीको ७० प्रतिशत धान रोपाईँ सकिएको सूर्योदय सहकारीका प्रवन्धक शिवजी गायकले जानकारी दिए । उनले सामूहिक खेतीको पहिलो वर्ष भएकोले केही सामान्य कठिनाइ भए पनि रोपाईँ राम्रोसँग चलिरहेको बताए । चितवनमा पहिलोपटक सुरु गरिएको उक्त खेतीका लागि माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय सहकारी संस्था मार्फत किसानको लालपुर्जा संकलन गरी चक्लाबन्दी गरिएको थियो ।
१९० बिघा जग्गामध्ये पहिलो चरणमा १०० बिघामा सामूहिक खेती सुरु गर्न लागिएको हो । जमिनलाई चक्लाबन्दी गरी आवश्यक सिँचाइ, मल तथा बीउ व्यवस्थापन गरी कम्तीमा पनि तीन बाली उत्पादन गर्ने योजना प्रादेशिक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ल्याएको हो ।
सूर्योदय सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलले सामूहिक खेतीका लागि सुरुमा किसानलाई मनाउन धौधौ भए पनि विस्तारै उनीहरूले बुझ्दै गएका र सबैको सहयोगबाट सामूहिक खेती अभियान सफल हुने बताए । चारवटा डोजरको माध्यमबाट सम्याइएको जमिनमा असार १५ गतेदेखि रोँपाई भएको हो ।
सामूहिक खेतीका लागि उक्त मन्त्रालयले तत्कालका लागि २५ लाख उपलब्ध गराएको छ भने आवश्यक उपकरण खरिदका लागि पनि सहयोग गरेको छ । ८६ घरधुरी रहेको कान्तिपुरमा अधिकांश दलित र त्यसमा पनि गन्दर्भ समुदायको बसोबास छ । करिब ४० हजार जनसंख्या बसोबास गर्दै आएको माडीको विकासको आधार कृषि र पर्यटन हो । चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न खहरे खोलाबाट पीडित माडीवासीले दीर्घकालीन रुपमा यसको समाधान खोजेर कृषि उत्पादन बढाउन सकिने बताउँदै आएका छन् ।