देश/प्रदेश

मकवानपुरमा भूकम्पबाट क्षति भएका १३ हजार घर निर्माण

Banner

हेटौंडा, साउन ५-

मकवानपुर जिल्लामा महाभूकम्पबाट क्षति भएका भवन संरचनामध्ये १३ हजार ७० वटा घरको पुनःनिर्माण सम्पन्न भएको छ ।

पुनःनिर्माण प्राधिकरणका अनुसार मकवानपुरमा हालसम्म पहिचान भएका ३४ हजार ३०० लाभग्राहीमध्ये १३ हजार ७० वटा घर पुनःनिर्माण भइसकेको छ ।

भूकम्पपछिको पुनःनिर्माणको अवस्थाबारे पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइद्वारा उपलब्ध तथ्याङ्कमा सो उल्लेख गरिएको छ । तथ्याङ्कमा ३४ हजार लाभग्राहीमध्ये २७ हजार ८३४ परिवारसँग पुनःनिर्माण सम्झौता भइसकेको जनाइएको छ । त्यसमध्ये २४ हजार ३६४ परिवारले घर निर्माण कार्य प्रारम्भ गरिसकेका छन् भने २७ हजार ५७९ लाभग्राहीले घर निर्माणका लागि पहिलो किस्ताबापत जनही रु ५० हजार बुझिसकेका छन् ।

भूकम्पपछिको पुनःनिर्माणका क्रममा मकवानपुरमा सात अर्ब ५० करोड रकम खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ हेटौँडाले जनाएको छ । एकाइका अनुसार निजी आवासतर्फ पाँच अर्ब पाँच करोड, शैक्षिक केन्द्र निर्माणमा दुई अर्ब ३८ करोड, पूर्वाधारतर्फ एक करोड ७१ लाख र तत्कालीन गाविस भवनमा ५० लाख खर्च भएको छ ।

भूकम्पले आंशिक क्षति भएका निजी आवासको प्रवलीकरण (रेक्टोफिटिङ)ले भने गति लिन नसकेको पुनःनिर्माणमा खटिएका प्राविधिकले बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अव्यवाहारिक नीति र कम अनुदान रकमका कारण प्रवलीकरणले गति लिन नसकेको जनाइएको छ ।

प्रवलीकरण गर्न दुई किस्तामा एक लाख दिने नीति प्राधिकरणको छ । एक लाखले मापदण्डअनुसारको प्रवलीकरण हुन नसक्ने भएकाले लाभग्राही इच्छुक नदेखिएको बुझिएको छ । मकवानपुमा प्रवलीकरणतर्फ १२ हजार ९४६ लाभग्राही छन् । तीमध्ये सात हजार २४६ जना लाभग्राहीले अनुदान सम्झौता गरेर पहिलो किस्ताबापत ५० हजार लिएका छन् । प्राधिकरणका इञ्जिनियर रविन पाठकका अनुसार हालसम्म कसैले पनि दोस्रो किस्ता लगेका छैनन् ।

मकवानपुरमा पूर्ण क्षति भई अनुदान सम्झौता भएकामध्ये ८२ प्रतिशतले निजी आवास भवन बनाइरहेका छन् । अनुदान सम्झौता गरेकामध्ये हालसम्म मकवानपुरमा १३ हजार ७० जना ४५.२१ प्रतिशत लाभग्राहीले घर निर्माण गरिसकेको कार्यान्वयन एकाइका प्रमुख सुदीप आचार्यले बताए । उनका अनुसार मकवानपुरमा कूल लाभग्राही सङ्ख्या ३४ हजार ३०९ मध्ये २७ हजार ८३४ जना अर्थात् ८० प्रतिशत लाभग्राहीले अनुदान सम्झौता गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>