फिचर

मकैको खोस्टाको मुढा देशदेखि विदेशसम्म

Banner

– जमुना शर्मा

कास्की, साउन ४

पछिल्लो समय सीपमा आधारित हस्तकलाको माग बढ्दै गएपछि सीप सिक्न गृहिणी महिलाको रुचि र जाँगर बढ्न थालेको छ । पोखरामा मकैको खोस्टाबाट बनाइएका मुढाको माग बढ्न थालेपछि तालीम सिक्ने र घरमै मुढा बनाएर आयआर्जन गर्ने महिला बढ्न थालेको कास्की पोखरा हस्तकला सङ्घका अध्यक्ष एवं पद्मावती हस्तकला उद्योगका सञ्चालक हिरा भट्टराई बताउँछन् ।

“हामीले यस उद्योगबाट विभिन्न तालिम प्रदान गर्छौँ । तर पछिल्लो समय मकैको खोस्टाबाट बनाइएको मुढाको माग बढ्न थालेपछि यही तालीमलाई हामीले निरन्तरता दिँदै आएका छौँ”, भट्टराईले भनिन्, “अहिले लायन्स क्लब अफ पोखरा गण्डकीको आयोजना र पद्मावती हस्तकलाको सहकार्यमा ३० जनाको टोलीलाई दुई हप्ताको तालिम दिइसकेका छौँ । लगत्तै अर्को टोली पनि इच्छुक भएर माग गर्नुभयो । यसलाई पनि निरन्तरता दिएका छौँ ।”

‘फेन्सी’ सामानले बजारमा हस्तकलाको व्यापार घटाइरहेको भन्ने कतिपय कुरामा पूरै सहमत हुनुहुन्न उद्यमी भट्टराई । उनका अनुसार मानिसका चाहना एकै किसिमका हुँदैनन्, सबैले फेन्सी तयारी सामान मात्रै मन पराउँछन् भन्ने लाग्दैन । अहिले प्राकृतिक र हस्तकलाका सामग्रीको बजार राम्रो हुँदै गएको छ । “बजारमा पाइने तयारी मुढालाई बाहिरबाट विनारङरोगन मकैका खोस्टाको बुनाइले छोपिन्छ र आकर्षक बनाइन्छ । यो प्राकृतिक पनि देखिन्छ ।” अहिले नियमित छ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

मकैको खोस्टाको मुढाको पछिल्लो समय विभिन्न होटलबाट आउन थालेको पद्मावती कोशेली घरका बजार व्यवस्थापक पूर्णिमा रिजालले बताए। “हामीलाई काठमाडौँबाट ५० मुढाको ‘अर्डर’ आएको छ । केही समय मागेका छौँ । यसका साथै पोखरा लेकसाइडका होटल घरमा र विदेशमा रहेका नेपालीको रोजाइमा पनि यो यस्तो मुढा पर्ने गरेको छ ।” यस प्रकारको मुढालाई धेरै नेपालीले विभिन्न देश पु¥याउने गरेको उनको भनाइ छ । दुईदेखि साढे तीन केजीसम्मको तौल हुने भएकाले विदेश लान चाहनेलाई त्यति गाह्रो नहुने उनले बताइन् ।

छ महिनादेखि मुढा बनाउँदै आउनुभएकी हीरा कुँवर आयआर्जनको राम्रो माध्यम भएको बताउँछिन् । “मैले पद्मावतीबाट तालिम लिएँ र अहिले सिकाउँदै आएकी छु, व्यावसायिकरूपमा मुढा बुन्दै आएकी छु ।” एउटा मुढा बनाएबापत एक हजार ज्याला पाउने उनको भनाइ छ । “घरको काम सबै सकेर बचेको समयमा मात्रै बनाउँछु, दुई तीन दिन लाग्छ । जति जाँगर चलायो उत्ति कमाइ हुन्छ नि ” तालिम लिइरहेकी पोखरा महानगरपालिका वडा नं १४ काजी पोखरीकी ४४ वर्षीया लीला थापा तालीमपश्चात् यही सीपलाई व्यवसायमा परिणत गर्ने सोच भएको बताउँछिन् । “मैले पहिलोचोटी यो तालिम लिएकी हूँ, अब यसलाई व्यासायिकरूपमा अघि बढाउने सोच बनाइरहेकी छु ।”

झाडु कुचोको सानो पसल गर्दै आएकी मुना गुरुङले तालिमपश्चात पसलमा मुढा बनाएर बेच्ने बताइन् । “तालिमले अब एउटा सीप दिएको छ । अब आफ्नो व्यवसायमा यो अर्को उत्पादन थप्छु ।” ‘फिनिसिङ’ नभएको सामान बिक्री गर्न गाह्रो हुने र त्यसलाई आर्कषक बनाउन थप मेहनत जरुरी हुने गुरुङले बताइन् ।

“मकैको खोस्टाबाट बनाएका मुढा हीरा भट्टराईको फेसबुकवालमा देखेपछि निकै आकर्षक लाग्यो तुरुन्तै उहाँसँग सम्पर्क गरेर छ वटा मुढा र छ वटा चकटी लगेर गएँ”, लायन्स क्लब अफ पोखरा गण्डकीका निर्वतमान अध्यक्ष मोना थापाले भनिन्, “घरमा आउने पाहुनाले मुढा निकै मन पराएर सोधीखोजी गर्नुहुन्छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>