नवलपुर
नवलपुरमा ‘खेताला’ पाउनै मुस्किल,खोसाखोस गर्छन किसान
ज्ञानु पंगेनी,
नवलपुर,साउन ४-
धान रोपाई नवलपरासीका दक्षिणी क्षेत्रका बासिन्दालाई रोजगारीको माध्यम बनेको छ । नवलपरासी पश्चिममा रहेका धान रोपाई हुने गाउँ माकर, बेलानी, दोविला, जमुनिया, कुकुरमारा, गंगाबस्ती, भटौलियालगायतका दर्जनौ गाउँमा रोपाई गर्न खेताला खोसाखोस नै हुने गरेको छ ।
केहि वर्ष अघिसम्म अर्मपर्म गरेर रोपाई हुने यी गाउँमा अहिले रोपाईका लागि खेताला पाउनै गाह्रो हुन थालेको थाहा पाएपछि विगत ३÷४ वर्षदेखी यहाँ जिल्लाकै दक्षिणी क्षेत्रका बासिन्दा वर्षेनी खेताला आउने गरेका छन् । खासगरी जिल्लाको सिमा क्षेत्र त्रिवेणी, प्रतापपुर, सेमरी, गुठीप्रसौनीका बासिन्दा यी गाउँमा रोपाईका लागि आउने गर्छन् ।
सिमावर्ती क्षेत्रमा गण्डक नहरको पानीले सिंचाई हुने भएकाले यहाँका बासिन्दाले असारको दोश्रो हप्तामै आफ्नो खेत रोपाई सक्छन् । आफ्नो रोपाई सकेलगत्तै ५०÷६० जनाको टोली बनाएर खेताला अभाव हुने गाउँमा रोपाईका लागि पुग्ने गरेको सेमरीबाट खेत रोप्न आएका रोशन गुप्ताले बताए । गुप्ताका अनुसार एउटै परिवारका पाँच जनासम्म खेताला हिड्छन । आकाशे पानीको भरपर्नुपर्ने गाउँहरुमा प्रायः असारको अन्तिम साताबाट साउनको अन्तिम सातासम्म रोपाई हुन्छ ।
घरमा त्यसै बस्न भन्दा रोपाईमा हिडे आम्दानी हुने भएकाले टोली नै बनाएर रोपाईमा हिड्ने गरेको गुप्ता बताउँछन् । रोपाईमा हिड्नेमा अधिकांश पुरुष नै छन् । पुरुष भए पनि उनीहरुले महिलाहरुले झै छिटोछिटो रोपाई गर्छन् । उनीहरु ५०/६० जनाको टोली नै बनाएर गाडी नै रिजर्भ गरेर आउने जाने गर्छन् । विहान सातबजेतिर रोपाई हुने गाउको पायक पर्ने स्थानमा जम्मा हुन्छन् । उनीहरु आईनपुग्दै खेताला खोज्ने गाउँलेहरुको भिड लाग्छ । गाडीबाट झर्न नपाउदै खेताला आफ्नोमा ल्याउन तछाडमछाड नै हुने गर्छ । महिला, पुरुष किशोर, किशोरी सबै मिलाएर टोली–टोली बनेर उनीहरु बाडिएर रोपाई गर्छन् ।
माकरकी किसान चिसा रामदामका अनुसार उनीहरु विहान करीब नौ बजेबाट साँझ पाँच बजेसम्म आठ घण्टा काम गर्छन् । यस वर्षको खेत रोपाईमा उनीहरुलाई दिनको पाँच सय रुपैयाँ ज्याला दिएको रामदामले बताईन् । विहानको खाना र दिउँसो नास्ता दिएर आउनेजाने गाडीभाडा समेत उनीहरुलाई दिएको उनले बताईन् । नभए उनीहरुले काम गर्न मान्दैनन् । माकरका अधिकांश किसानले उनीहरुबाटै रोपाई गराएको रामदामले जानकारी दिईन् ।
४/५ वर्ष अघिसम्म गाउँका दिदी बहिनीहरु मिलेर पर्म लगाएर पालैपालो एक अर्काकोमा रोपाई गर्ने प्रचलन रहेको थियो । तर अहिले यहाँ यो प्रचलन हराईसकेको मञ्जु केसी बताउँछिन् । युवा पुस्ताले खेतीप्रति चासो नदिने, गाउँका अधिकांश पुरुष सबै विदेश गएर कमाएका कारण पनि गाउँमा अर्मपर्म गरेर खेती लगाउने प्रचलन हराउँदै गएको उनको बुझाई छ । ‘पहिले आम्दानी राम्रो नहुँदा खेतालालाई दिने पैसा हुन्थेन, अर्मपर्म गरेर महिनौसम्म रोपाईमा हिडिन्थ्यो’ केसीले भनिन् ‘अहिले सबैले विदेश गएर कमाएका छन्, किन दुःख गर्ने भनेर अर्मपर्ममा हिड्न छाडेका हुन् ।’