चितवन विशेष
चितवनमा प्रविधिमैत्री शिक्षक समाजको भेला
कारी महतो
चितवन, साउन ४-
शिक्षकहरुलाई पनि प्रविधियुक्त बनाउन प्रेरणा र सीप सिकाउने उद्देश्यले गठन भएको प्रविधिमैत्री शिक्षक समाज नेपाल चितवनको पहिलो जिल्लास्तरीय भेला आज रत्ननगरमा सम्पन्न भएको छ ।
स्काइडर आवासीय माध्यमिक विद्यालयमा भएको भेला तथा प्रविधि प्रदर्शनीको उदघाटन जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले गरेका हुन् । जिसस अध्यक्ष डल्लाकोटीले चितवनका कतिपय विद्यालयहरुका ठूलठूला भवनहरु भए पनि शैक्षिक गुणस्तर निकै कमजोर रहेकोले हरेक विषयहरुका पढाइ र सिकाइ प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘अहिलेका सम्पूर्ण शिक्षकहरुको हातमा ल्यापटप वा ट्याबलेट हुनु जरुरी छ ।’
भेलामा झापा जिल्लाका शिक्षक छविलाल आचार्यले विद्यालयमा आईपर्ने विभिन्न प्राविधिक कार्यहरु जस्तै, तलबी भर्पाई, नतिजा विश्लेषण, ग्रेडसीट लेजर निर्माण, पुस्तकालय व्यवस्थानलगायतमा देखिएका विभिन्न समस्याहरुलाई प्रविधि मार्फत छिटोछरितो र सजिलो तरिकाले समाधान गर्नका लागि आफैंले बनाएका सामग्री प्रदर्शन गरेका थिए । भेलामा मकवानपुरका विवश थापाले आफूले प्रविधिको प्रयोगबाट विद्यालयमै रहेर विभिन्न १७ वटा देशका विद्यार्थीलाई अनलाइन शिक्षण गर्नुका साथै विदेशी शिक्षकहरुबाट समेत विद्यालयको शिक्षण सिकाइमा प्रयोगमा ल्याएका सामग्री प्रदर्शन गरेका थिए । कास्की जिल्लाका शिक्षक सकुन्तला सोतीले सामाजिक विषय अध्यापनको क्रममा प्रविधिमैत्री बनाई शिक्षण सिकाई रोचक बनाउनका लागि प्रयोगमा ल्याएका सामग्री प्रस्तुत गरिन् । त्यस्तै काभ्रेका शिक्षक हरिहर दाहालले अतिरिक्त क्रियाकलापअन्तर्गत हाजिरीजवाफ प्रतियोगितामा प्रविधिको प्रयोग गरेका सामग्री प्रस्तुत गरेका थिए ।
जिल्ला भेलाबाट देवप्रसाद पण्डितको अध्यक्षतामा प्रविधिमैत्री शिक्षक समाज नेपालको १७ सदस्यीय चितवन जिल्ला सम्पर्क समितिको निर्विरोध चयन भएको छ । समितिको उपाध्यक्षमा रामेश्वर अधिकारी, महिला उपाध्यक्षमा ज्ञानुदेवी पाण्डे, सचिवमा विष्णुहरि कँडेल, कोषाध्यक्षमा भीमलाल आचार्य, सहसचिवमा नीलहरि थापा, तथा सदस्यहरुमा अप्सरा कुमारी खड्का, राम प्रसाद भण्डारी, रबिन घिमिरे, राजेन्द्र न्यौपाने, दुर्गादेवी लामिछाने, दिपु कँडेल, शंकर घिमिरे, विश्वराज अर्याल, कुमार अधिकारी, किरण भुसाल निर्विरोध चयन भएका छन् ।
भेलामा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्याल, नेपाल राष्ट्रिय शिक्षक संगठन ३ नं. प्रदेशका सचिवालय सदस्य पूर्ण पुरी, अखिल नेपाल शिक्षक संगठनका चितवनका उपाध्यक्ष नीलहरि थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । भेला आयोजक समितिका संयोजक देवप्रसाद पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो ।