वागमती
देशभरका २० हजार इन्जिनियरहरुको दुर्घटना बिमा
चितवन, साउन २-
नेपाल इञ्जिनियर्स एशोसिएसनले २० हजार इञ्जिनियरहरुको दुर्घटना बिमा गर्ने भएको छ ।
५७ औं इन्जिनियर दिवसका अवसरमा नेपाल इञ्जिनियर्स एशोसिएसनकाले सो जानकारी गराएको हो । बिमाको लागि नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग इञ्जिनियर्स एशोसिएसनको सम्झौंता भएको छ । बिमाको बिमांक दश लाख रहनेछ भने प्रिमियम ५० लाख तिर्नुपर्नेछ । तर, आफूहरुको चाहना बिमा दाबी गर्न नपरोस् भन्ने रहेको पनि अध्यक्ष वज्राचार्यले सुनाए । अहिलेलाई एशोसिएसनले नै प्रिमियम तिरिदिने भएको छ ।
एशोसिएसनले विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकारसम्पन्न बनाउन सरकारले काम गर्नुपर्ने पनि माग गरेको छ । एशोसिएसनले यस वर्षको इन्जिनियर दिवसको मूल नारा ‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियरिङ सेवा” तय गरेको छ ।
अध्यक्ष बज्राचार्यले जबसम्म मुलुकमा प्राविधिक जनशक्तिको सेवाको सम्मान तथा दक्षताको उचित सम्बोधन गरिँदैन तबसम्म मुलुकको पूर्वाधारलगायत आर्थिक तथा सामाजिक विकास सम्भव नभएको जीकिर गरे । ईन्जिनियर्स दिवसको उपलक्ष्यमा एशोसिएसनले गत शनिबार एशोसिएसनको आफ्नै कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ भने काठमाडौंस्थित् युएन पार्क परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
कार्यक्रममा एशोसिएसनका महासचिव छविराज पोख्रेलले इन्जिनियरहरु देशको महत्वपूर्ण जनशक्ति भएकोले उनीहरुलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘यो पेसा जोखिमयुक्त पेसा हो ।’ राज्यले इन्जिनियरहरुलाई विश्वास र साथमा लिएर काम गर्नुपर्ने पनि उनले बताए । उनले सरकारले बजेट र नीति तथा कार्यक्रममा पनि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने भनिसकेकोले त्यसमा खुसी व्यक्त गरे ।