कृषि
देवचुलीमा महिलाहरुको नयाँ दुग्ध डेरी सञ्चालनमा
ज्ञानु पंगेनी
नवलपुर, साउन १-
नवलपुरको देवचुली नगरपालिकाका महिलाहरु संगठित भएर दुग्ध डेरी सञ्चालनमा ल्याएका छन ।
दुुग्ध डेरी सञ्चालन गर्ने काम पुरुषहरुले मात्रै सक्छन् भन्ने मानसिकतालाई पछि पार्दै महिलाहरुले डेरी सञ्चालनमा ल्याएका हुन् । दुई हजार लिटर चिलिम भ्याट ( चिस्यान मेसिन ) क्षमतासहित उनीहरुले दुग्ध डेरी सञ्चालनमा ल्याएका छन् । सकलादेवी सामाजिक उद्यमी महिला सहकारी संस्थाद्वारा सञ्चालित उक्त दुग्ध डेरी साउने संक्रान्तिको अवसर पारेर देवचुली तीन आम्बासचोकमा बुधबार औपचारिक उद्घाटन गरिएको छ । देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठले डेरीको उद्घाटन गरेका हुन् । उद्घाटन कै दिन ७७६ लिटर दूध संकलन गरिएको सकलादेवी सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष इन्दिरा वाग्लेले जानकारी दिइन् । तत्काल एक हजार लिटर दुग्ध संकलन गर्ने लक्ष्य राखिएकोमा बिहान र साँझ गरेर उक्त लक्ष्य पूरा हुने वाग्लेले बताइन् ।
दुग्ध डेरी सञ्चालनका लागि चिलिम भ्याट, फ्याट – ल्याक्टो मापन मेसिन, कम्प्युटर खरिद गर्न देवचुली नगरपालिका, हिकोडेफ र हेफर इन्टरनेशनल नेपालको साझेदरीमा सञ्चालित साना किसान परियोजनाले आर्थिक सहयोग गरेको अध्यक्ष वाग्लेले जानकारी दिइन् ।
किसानलाई प्रत्यक्ष लाभ हुने गरी सहकारी मार्फत् विभिन्न सेवा सुविधासमेत प्रदान गर्ने योजनासहित डेरी सञ्चालनमा ल्याएको अध्यक्ष वाग्लेको भनाइ छ । डेरीमा दूध ल्याउने किसानका लागि सहुलियत दरमा दाना चापट र ऋण प्रवाह गर्ने, बिमा समेत लागू गर्ने योजना रहेको वाग्लेले बताइन् ।
देवचुली वडा नम्बर ३ साविकको दिब्यपुरी गाविस पशु पालनको पकेट क्षेत्रका रुपमा रहेको छ । यस क्षेत्रबाट मात्रै दैनिक एक हजार २०० लिटर दूध उत्पादन हुँदै आएको सहकारीले गरेको अध्ययनका क्रममा पाइएको थियो । पूर्वपश्चिम राजमार्गबाट केही भित्र पर्ने भएकाले यहाँका किसानले नजिकै डेरी नहुँदा करिब चार किलोमिटरको दूरीमा रहेको दलदले बजारमा दूध पु¥याउनुपर्ने बाध्यता रहेको थियो । आफ्नै ठाउमा दुग्ध डेरी सञ्चालनमा आएपछि दूध बिक्री गर्न टाढा धाउनु नपर्ने र समयको पनि बचत हुने भन्दै किसानहरुले पनि खुसी ब्यक्त गरेका छन् । महिलाहरुले सञ्चालन गरेका संघसंस्थामा पारदर्शिता र इमान्दारीता हुने भएकाले किसानलाई समेत लाभ हुनेमा विश्वस्त रहेको पशुपालक किसान बसन्तराज पौडेलले बताए ।
कार्यक्रममा नगर प्रमुख पूर्णकुमार श्रेष्ठले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । नगरभित्र पशुपालन र तरकारी खेती ब्यवसायिक रुपमै फस्टाउँदै गएकाले यसको प्रवद्र्धन गर्न विभिन्न एनजीओ, आइएनजीओ , प्रदेश र स्थानीय सरकारले संयुक्त रुपमा साझेदारी गर्दै काम गर्ने योजना बनाएर अघि बढेको जानकारी दिए । एउटै कार्यक्रमलाई भिन्दाभिन्दै भन्दा एकिकृत गरेर गर्दा त्यसको फाइदा बढी हुने भएकाले नगरपालिकाले साझेदरीमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।
यस्तै नगर उपप्रमुख पार्वता तिवारीले पशुपालक किसानलाई प्रोत्साहन गर्न कै लागि नगरका किसानलाई प्रति लिटर ५० पैसा उत्पादनमा आधारित अनुदान दिने नीति तथा कार्यक्रममा राखिएको बताइन् । उनले महिलाहरुले सञ्चालन गर्ने जुनसुकै उद्यममा नगरपालिका सहयोग गर्न तयार रहेको भन्दै डेरीलाई सफल रुपमा सञ्चालन गरेर उदाहरणीय बन्न महिलाहरुलाई आग्रह गरिन् । यस्तै कार्यक्रममा हिकोडेफ नवलपरासीका कार्यकारी निर्देशक सुरविर स्थापितले संस्थाले महिलाहरुको आयआर्जन वृद्धिमा लामो समयदेखि काम गर्दै आएको भन्दै डेरी सञ्चालन गर्ने कुरामा महिलाहरुले गरेको आट र हिम्मतलाई हिकोडेफ र हेफरले हौसला प्रदान गरेको र आगामी दिनमा पनि साझेदारी गर्दै अगाडि बढ्ने बताए । साना किसानको प्रवद्र्धन गर्न बजारीकरणको सहज वातावरण बनाउने काममा हरबखत प्रयत्न गरिरहने बताए । सकलादेवी सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष इन्दिरा वाग्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।