चितवन विशेष
सांसद विजय सुवदीको निर्वाचन क्षेत्रमा ६५ हजार फलफुलका विरुवा रोपियो
चितवन,साउन १-
प्रदेश सभा सदस्य विजय सुवदीको क्षेत्र चितवन २/२ मा ६५ हजार फलफुलका विरुवा रोपिएको छ । सरसफाई तथा हरियाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत सो क्षेत्रमा पर्ने ७ वडाका १४ टोलविकास संस्थामा फलफुलका विरुवा रोपिएको हो । आज (बुधवार) प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अभियान अन्तर्गत भरतपुर १० मा रहेको सहकारी प्रशिक्षालयको परिसमा काजुको विरुवा रोप्नुभएको छ । प्रदेश सरकारको ५० लाख रुपैंया बजेट र भरतपुर महानगरपालिकाको व्यवस्थापनमा कार्यक्रम संंचालन गरिएको हो ।
क्षेत्र नम्बर २/२ अन्तर्गत भरतपुर महानगरपालिकाका २, ४, ५, ७, १०, ११, १२ नम्बर वडा पर्छन् । सात वडाका १४ टोल विकास संस्थामा विभिन्न प्रजातीका फलफुलका विरुवा रोपिएको छ । टोलबाट माग भए अनुसारका विरुवा उपलब्ध गराइएको सरसफाई तथा हरियाली प्रवद्र्धन समितका संयोजक केशव रेग्मीले जानकारी दिनुभयो । उहाँले हरेक टोलको एउटा सडकलाई नमुना फलफुलको सडक निर्माणका लागी एकै प्रकृतीका फलफुलका विरुवा उपलब्ध गराइएको बताउनुभयो । आँप, लिची, कागती, अम्बा, मेवा, एभोग्राडो लगाएतका फलफुलका विरुवा रोपिएको रेग्मीले बताउनुभयो ।
फलफुल रोप्न,गोडमेल गर्न र रुख व्यवस्थापनका लागि आवश्यक पर्ने औजार उपकरणहरु राख्न प्रत्येक टोलमा कष्टम हायरिङ सेन्टर स्थापना गरिएको उहाँले बताउनुभयो ।