चितवन विशेष

भरतपुरमा सरसफाइ र हरियाली प्रवद्धन कार्यक्रमको मुख्यमन्त्रीद्धारा सुभारम्भ

Banner

चितवन, साउन १-

चितवन क्षेत्र नम्बर २/२ अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाका सात वडामा सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रम लागू भएको छ । कार्यक्रमको आज (बुधबार) प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सुभारम्भ गरेका हुन् । कार्यक्रमअन्तर्गत स्रोत केन्द्र, शहरी बायो ग्यास प्लान्ट, पानी शुद्धिकरण, वृक्षरोपण र फोहोर व्यवस्थापनको एकसाथ सुभारम्भ गरिएको छ । कार्यक्रम सुुभारम्भ गर्दै मुख्यमन्त्री पौडेलले देश परिवर्तनका लागि हरेक क्षेत्रमा नयाँ कामको सुरुवात गर्नुपर्ने बताए । उनले सरसफाइ र हरियाली प्रवद्र्धनका क्षेत्रमा भरतपुरमा सुरु भएको योजना सानो भए पनि दिर्घकालिनरुपमा निकै महत्वको योजना भएको बताए ।

‘यो अभियानले आफ्नो घरको फोहोर आफै व्यवस्थापन गर्ने परिपाटीको सुभारम्भ गरेको छ’, मुख्यमन्त्री पौडेलले भने, ‘यसले न घरको फोहोर बाहिर लैजानुपर्छ, न महानगरपालिकालाई फोहोर व्यवस्थापनमा चुनौती थपिन्छ ।’ उनले हिजोकै निरन्तरताले देशमा समृद्धि नहुने तर्क गरे । उनले भने, ‘मैले गरेको फोहोर नगरपालिकाले लैजानुपर्छ भन्छौं, हामी यसबाट मुक्त हुनुपर्छ, मैले गरेको फोहोर मैले नै व्यवस्थापन गर्नुपर्छ भन्ने धारणा सबैमा जाग्नुपर्छ ।’ महानगरपालिकाको सबैभन्दा जटिल समस्या फोहोर व्यवस्थापन रहेको भन्दै उनले यो कार्यक्रमले भविष्यमा सहजता प्रदान गर्ने दाबी गरे । उनले हरेक घरमा अनिवार्य फलफूलका विरुवा रोप्ने अभियान चलाउनुपर्ने बताए ।

समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक पार्न हामीले आफूलाई नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । ‘मैले आफूलाई परिवर्तन गर्नुपर्छ, तपाईँ पनि आफूलाई परिवर्तन गर्नुहोस्’, उनले भने, ‘हामी आफै परिवर्तन भए देशको परिवर्तन छिट्टै सम्भव छ ।’ प्रदेशका कुनै पनि सांसदले भौतिक विकास बाहेकको विकासका लागि बजेट माग नगरेको भन्दै उनले चितवनका सांसद विजय सुवेदीले मात्र यस्तो कार्यक्रमका लागि बजेट माग गर्ने गरेको बताए । सडकलगायतका भौतिक पूर्वाधारले मात्र हामीले कल्पना गरेको समाज निर्माण हुन नसक्ने मुख्यमन्त्री पौडेलको तर्क थियो । उनले प्रदेश सरकारले कृषि उत्पादनलाई जोड दिएको भन्दै त्यसको बजारिकरणको व्यवस्था प्रदेश सरकारले गर्ने बताए । विकास सबैका लागि भएको भन्दै त्यसमा कोही सत्तपक्ष र कोही प्रतिपक्ष नहुने उनले धारणा राखे । सरसफाई र हरियाली प्रवद्र्धन कार्यक्रम सफल बनाउन आम भरतपुरबासीलाई आग्रह गर्दै प्रदेश सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रदेशसभा सांसद विजय सुवेदीले सम्रग भरतपुरलाई एक नमुना बगैचा बनाउने अभियानका साथ कार्यक्रम लागू गरेको बताए । उनले बढ्दो सहरीकरण र विकास निर्माणसँगै प्रदूषण र फोहोरमैला बढ्ने भन्दै त्यसको व्यवस्थापनका लागि घरघरबाट अभियान चलाएको बताए । वातावरण सन्तुलन राख्न र प्रकृति अनुकुलन बनाउन सरसफाई र हरियाली प्रवद्र्धन कार्यक्रम प्रभावकारी बन्ने उनले स्पष्ट पारे ।

मानविय क्रियाकलापबाट भइरहेका फोहोरमैला र प्रदूषण रोकिएन भने सुन्दर सहर भरतपुर अव्यबस्थित बन्ने खतरा रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘सुविधा सम्पन्न शहरमा बसोबास गर्ने सबैको चाहाना छ, सांसद सुवेदीले भने’, सबैले आहा भन्ने सहरको रुपमा भरतपुरलाई विकास गर्ने हो ।’ आफ्नो निर्वाचन क्षेत्रमा एक वर्षको अवधिमा ६५ हजार फलफूलका विरुवा रोपिएको उनले जानकारी दिए । यस आर्थिक वर्षमा यो कार्यक्रमलाई थप व्यवस्थित गर्दै अन्य टोल विकास संस्थाहरुमा पनि लागू गरिने सुवेदीले बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरलाई स्वच्छ, सफा र हरियाली बनाउने अभियानमा जुटेको बताए । समग्र बजेटको १० प्रतिशत (१० करोड बजेट) महानगरपालिकाले वातावरणको क्षेत्रमा विनियोजन गरेको उनले जानकारी दिए । ‘तीब्र विकास निर्माणसँगै व्यवस्थित शहर निर्माणको अभियानमा छौं’, उनले भने’ ‘केही सफलता हाँसिल गरे पनि धेरै काम गर्न बाँकी छ ।’

सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रम मार्फत् चितवन क्षेत्र नम्बर २÷२ अन्तर्गत भरतपुर महानगरपालिकाका ७ वडामा ६५ हजार फलफूलका विरुवा रोपिएको छ । क्षेत्र नम्बर २÷२ अन्तर्गत भरतपुर महानगरपालिकाका २, ४, ५, ७, १०, ११, १२ नम्बर वडा पर्छन् । प्रदेश सरकारबाट विनियोजन भएको ५० लाख बजेट र भरतपुर महानगरपालिकाको व्यवस्थापनामा कार्यक्रम लागू गरिएको हो । सात वडाका १४ टोल विकास संस्थामा विभिन्न प्रजातिका फलफूलका विरुवा रोपिएको छ । टोलबाट माग भए अनुसारका विरुवा उपलब्ध गराइएको सरसफाइ तथा हरियाली प्रवद्र्धन समितिका संयोजक केशव रेग्मीले जानकारी दिए । उनले हरेक टोलको एउटा सडकलाई नमूना फलफूलको सडक निर्माणका लागि एकै प्रकृतिका फलफूलका विरुवा उपलब्ध गराइएको बताए । आँप, लिची, कागती, अम्बा, मेवा, एभोग्राडोलगायतका फलफूलका विरुवा रोपिएको रेग्मीले बताए ।

फलफूल रोप्न, गोडमेल गर्न र रुख व्यवस्थापनका लागि आवश्यक पर्ने औजार उपकरणहरु राख्न प्रत्येक टोलमा कष्टम हायरिङ सेन्टर स्थापना गरिएको उनले बताए । यस्तै आठ टोल विकास संस्थाको ९ स्थानमा बायोग्याँस प्लान्ट जडान गरिएको छ । वडा नम्बर ७ मा रहेको दिपज्योति टोलमा ठोस फोहोर संकलन केन्द्रको सुरुवात गरेको संयोजक रेग्मीले बताए । घर, कारखाना, अस्पताल र अन्य विभिन्न क्षेत्रबाट निस्कने फोहोर पानीलाई शुद्धिकरण गरेर मात्र खोला नालामा पठाउन जलकुम्भी झारबाट पानी शुद्धिकरण गर्ने अभियान प्रारम्भ गरेको उनले बताए ।

पाँच वडाका ६ घरमा जलकुम्भी झारबाट पानी शुद्धिकरणको व्यवस्था गरिएको छ । घरबाट निस्कने फोहोर पानीलाई सानो तलाउ बनाई त्यसमा जलकुम्भी झारबाट पानी शुद्धिकरण गरिन्छ । प्राकृतिक रुपमा पानी शुद्धिकरणको लागि जलकुम्भी झार एउटा उपयुक्त माध्यम रहेको रेग्मीले बताए । जलकुम्भी झारबाट शुद्धिकरण गरी निस्केको पानीलाई पुनः तरकारी या करेसाबारीमा पुनः प्रयोग गर्न सकिने उनको भनाइ छ ।

यसअघि मुख्यमन्त्री पौडेलले भरतपुरको सहकारी प्रशिक्षालयको परिसरमा वृक्षरोपण गरेका थिए । सुभारम्भ कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>