चितवन विशेष
आज साउने सङ्क्रान्ति मनाइदै
चितवन, साउन १–
आज साउने सङ्क्रान्ति मनाइदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउन लागिएको हो । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन सुरु हुने दिनलाई विशेष रूपमा मनाइन्छ ।
अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।
एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दो आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । साउन महिनालाई विशेषरूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ ।
साउनलाई ‘श्रावण’ महिना पनि भनिन्छ । श्रावणको अर्थ हो श्रवण गर्ने अर्थात सुन्ने । चतुर्मास, जसमा हरिको कथा श्रवण गरिन्छ । तर चतुर्मासको पहिलो महिना ‘हर’ अर्थात शिवको उपासनाको महिना हो । साउन शिवको प्रिय महिना हो । किनभने यसले शीतलता प्रदान गर्दछ । हर चिज, जसले शीतलता प्रदान गर्दछ, त्यो शिवको प्रिय हो ।
भागवत महापुराणमा समुद्र मन्थनको एक कथा छ । देवता र दानव मिलेर समुद्र मन्थन गर्दा विष निस्किन्छ । सारा सृष्टि नै समाप्त पार्नसक्ने विष निस्किएपछि हाहाकार मच्चिन्छ । त्यसपछि भगवान विष्णुले देवताहरुलाई सल्लाह दिन्छन्– जाऊ भोलेनाथसँग पुकार गर । उनले मात्र यो विष पिउन सक्छन् ।
देवताहरुको अनुनय विनयपछि शिवले त्यो विष पिइदिन्छन् र घाँटीमा अड्काएर राख्छन् । कालकुट भनिने त्यही विष घाँटीमा रहेका कारण शिवको घाँटी निलो हुन्छ । त्यसैले शिवलाई अर्को नाम ‘निकलण्ठ’ भनेर पुकार्न थालियो ।
त्यो विषको असर यति भयानक थियो कि शिवको शरीरमा असर देखिन थाल्यो । पीडा शान्त पार्नका लागि उनको शरीरमा जल (पानी० चढाउन थालियो । उनले शीतल महसुस गर्न थाले अनि प्रसन्न पनि भए । त्यही बेलादेखि शिवलाई जल चढाउने परम्परा सुरु भएको बताइन्छ । साउन महिना यस कारणले पनि शिवको प्रिय छ कि यस महिनामा आकाशबाट पानी बर्सिन्छ ।
यस्तो कथा आजको युवा पिँढीलाई काल्पनिक लाग्न सक्छ । तर यसमा सन्देश छ । संसारमा जब कुसंस्कार, अत्याचार र व्यभिचारको विष फैलिन्छ, त्यसलाई मानिसले नै रोक्न सक्छ । जो गृहस्थ भएर पनि सन्यासी जस्तो बन्दछ, सृष्टिको स्वामी भएर पनि पहाडको गुफामा बसेर सन्तुष्ट हुन्छ, जो अघोर अर्थात यस्तो चरित्र जसका लागि कुनै पनि नकारात्मक छैन, सबै समान छ । शिवलाई अघोरवादको प्रवर्तक पनि मानिन्छ ।
त्यसैले साउन महिना शिवप्रति आस्था व्यक्त गर्ने र विष पिइदिएर संसारलाई बचाएकोमा धन्यवाद दिने प्रतीक महिनाको पनि हो ।
साउन महिना सुरु हुनुभन्दा एक दिन अगाडि गुरु पूर्णिमा मनाइन्छ । यो केवल संयोगमात्र होइन । वास्तवमा शिव नै आदि गुरु हुन् । व्रह्मा सृष्टिको पिता हुन् भने शिव पहिलो गुरु । शान्ति, सन्तुष्टि र सहयोगको जुन पाठ शिवले संसारलाई पढाए त्यो अन्य कुनै देवताले पढाएनन् । देवताहरुको गुरु बृहस्पति र दानवको गुरु शुक्राचार्य हुन् । यी दुवै दुई संस्कृतिका जनक हुन् तर यिनका पनि गुरु शिव हुन् ।