वागमती
विमानस्थलमा चिप्लिएको यतिको विमान मर्मतपछि फेरि सञ्चालनमा आउने
काठमाडौं, असार २९-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको एटिआर–७२ विमान मर्मतपछि पुनः सञ्चालनमा ल्याइने भएको छ ।
यही २७ गते शुक्रबार नेपालगञ्जबाट काठमाडौँ आएको चालक दलका सदस्यसहित ६६ यात्रु सवार उक्त विमान धावनमार्गमा चिप्लिएर करीब १०० मिटर पर धाँसेमैदानमा धस्सिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, विमानस्थलका प्राविधिकलगायतको टोलीले झण्डै आठ घण्टाको प्रयासपछि जहाजलाई तानेर विमानस्थलको पूर्वी तर्फको रिमोट पार्किङमा लागिएको थियो । विमानको प्राविधिक परीक्षण गरी आवश्यक मर्मतपछि पुनःसञ्चालनमा ल्याइने यति एयरलाइन्स वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए । उनले विगतमा पनि धावनमार्गबाट चिप्लिएका विमान प्राविधिकले मर्मत गरेपछि सञ्चालनमा ल्याइने गरेको बताए। अहिलेको विमानमा धेरै समस्या नपरेको तर, यतिकै इञ्जिनियरले विमानको सबै पाटपूर्जा परीक्षण गरेपछि अवस्था हेरेर सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।
मौसमले साथ दिएपछि यति एयरलाईन्स इञ्जिनीयरले उक्त विमानको प्राविधिक परीक्षण र मर्मतको काम आजबाट थालेका छन् । आवश्यक परेमा जहाज निर्माता कम्पनीका इञ्जिनीयर झिकाएर भए पनि विमानको मर्मत गरिने प्रबन्धक राईले बताए । यतिको विमान मर्मतपछि सञ्चालनमा आउने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । “अहिलेको विमानमा धेरै क्षति भएको देखिन्न । विमानको पाटपूर्जा हेरेर सामान्य मर्मतपछि सञ्चालनमा आउनेछ,”उनले भने । महाप्रबन्धक क्षेत्रीको अनुभवमा विगतमा यस्ता प्रकृतिका (विमान चिप्लने र धस्सिने) घटनाका कतिपय विमान नचलेका उदाहरण पनि छन् ।
विमानको मर्मत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्ड पूरा गरेपछि पुनः सञ्चालनमा आउनेछ । विमानको क्षति कति भएको त्यसको प्राविधिक प्रतिवेदनका आधारमा विमान सञ्चालनमा आउने प्राधिकरणको हवाई सुरक्षा विभागका एक अधिकारीले जानकारी दिए । उनका अनुसार हालै रामेछापमा भएको तारा एयरको विमान पनि धावनमार्गबाट चिप्लिएपछि त्यसलाई मर्मत गरी केही दिनभित्रै सञ्चालनमा ल्याइएको हो ।