चितवन विशेष
चितवनमा पहिलो पटक कानुन अध्यापन हुँदै
चितवन, असार २९–
चितवनमा पहिलो पटक कानुन विषयको अध्यापन हुने भएको छ । भरतपुरको भानु माध्यमिक विद्यालय पहारिलोटारले पहिलो पटक कक्षा ११ र १२ मा कानुन विषय अध्यापन गराउन लागेको हो ।
यसै शैक्षिक सत्रदेखी दुई वर्षे कानुन विषयको अध्यापन गराउन लागिएको विद्यालका प्रधानाध्यापक विकास थापाले जानकारी दिए । उनले कानुन विषयको अध्ययनका लागि न्यूनतम शैक्षिक योग्यता एसईई परीक्षामा न्यूनतम १.६ जीपीए ग्रेड प्राप्त हुनुपर्ने बताए । विशेषगरी विद्यालयले आफूले चाहेको मूल विषयमा सी ग्रेड प्राप्त गरेको हुनुपर्ने उनले बताए ।
पहिलो सत्रमा कानुन विषयका लागि एक सय जनालाई भर्ना लिइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप न्यौपानेले बताए । अहिले विद्यार्थीहरुको भर्नाका लागि आउन थालेको उनले बताए । अध्यक्ष न्यौपानेले भने–‘चितवनको मात्र नभई सुर्खेत, सर्लाही, उदयपुरलगायतका जिल्लाबाट पनि विद्यार्थी आउन थालेका छन्, हामी अझै प्रचारप्रसार गर्दैछौं ।’
विद्यालयका अनुसार कानुनका लागि भर्ना शुल्क ९ हजार पाँच सय रुपैयाँ रहेको छ । त्यसपश्चात विद्यार्थीले मासिक शुल्क दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
कानुन विषयमा पाँच वटा विषय रहेको छ । तीन वटा कानुनको र दुई वटा अनिवार्य नेपाली र अँग्रेजी विषय रहेको छ । यस विषयको अध्यापन विहानी समयमा हुने विद्यालयले जनाएको छ ।
अधिवक्ता जगन्नाथ भण्डारीले कानुन विषय सबै क्षेत्रमा आवश्यक पर्ने भएकाले विद्यार्थीका लागि राम्रो अवसर रहेको बताए । उनले कानुन विषय बारे अभिभावकहरुमा पनि राम्रोसंग जानकारी गराउनुपर्ने बताए । कानुन विषय अध्ययन गर्दा जागिर वा काम गर्नमा कुनै समस्या नहुने उनले बताए ।
वि.सं.२०१८ सालमा तत्कालिन पार्वतीपुर गाविसको पहारिलोटारमा स्थापना भएको विद्यालयमा जुनियर कम्प्युटर टेक्निसियन (जेसीटी) र शिक्षा विषयमा पनि अध्यापन हुँदै आइरहेको छ ।