क्रिकेट
टि–ट्वान्टी सिरिजः मलेसियाले दियो नेपालसामु १२९ रनको लक्ष्य
काठमाडौं, असार २८–
दुई टि–ट्वान्टी ऋंखलाको पहिलो खेलमा घरेलु टोली मलेसियाले नेपालसामु १२९ रनको लक्ष्य पेश गरेको छ ।
मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन जोड्यो । मलेसियाका लागि भिरनदीप सिंहले ५७ रनको अर्धशतकिय पारी खेले । यस्तै कप्तान अहमेद फेजले ४५ रन बनाए । फित्रि सामले १२ रन बनाए भने अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । मलेसियाका पाँच जना व्याट्सम्यान खाता नखोल्दै आउट भए ।
नेपालका लागि करन केसीले ३, सन्दीप लामिछाने र बसन्त रेग्मीले २/२, सोमपाल कामीले एक विकेट लिए । करन केसीले २० औं ओभरमा ३ विकेट लिएका हुन् ।
नेपालले दोस्रो खेल भोलि सोही मैदानमा खेल्नेछ । सिंगापुरमा हुने टि–ट्वान्टी विश्वकपको एशिया क्षेत्रीय फाइनल छनौटको लागि नेपाली टोली मलेसिया पुगेको हो ।
केहीदिन अघिदेखि प्रशिक्षणरत नेपाली टोलीले सिरिज पछि सिंगापुर प्रस्थान गर्नेछ । विश्वकप एशिया छनौट प्रतियोगिता जुलाइ २२ तारिखदेखी हुँदैछ ।
एकदिवसीय मान्यता प्राप्त नेपालले आज मलेसियासंग पहिलो पटक टि–ट्वान्टी सिरिज खेलिरहेको हो । आफू भन्दा कम टि–ट्वान्टी बरियातामा रहेको मलेसियासंग नेपालले विश्वकप छनौटको तयारीको रुपमा यो सिरिजलाई लिएको छ ।