चितवन विशेष
चितवनको पर्यटकीय क्षेत्र सौराहामा बाढीको त्रास
चितवन, असार २७–
राप्ती नदीको बहाब बढ्दै गएपछि चितवनको पर्यटकीय क्षेत्र सौराहामा त्रास फैलिएको छ । लगातार भइरहेको वर्षाले राप्तीको बहाब बढ्न थालेपछि सौराहाका रेष्टुरेन्ट व्यवसायीमा त्रास फैलिएको छ ।
राप्ती किनारमा रहेका रेष्टुरेण्टको सबै सामग्रीहरु सुरक्षित स्थान तर्फ लैजान थालिएको छ । रेष्टुरेण्ट तथा बार एशोसियसन (रेवानं) सौराहाका अध्यक्ष गोकर्ण गिरीले बाढी पस्न सक्ने संभावनालाई ध्यानमा राखेर राप्ती किनारमा रहेका रेष्टुरेण्टका सामग्रीहरु सुरक्षित स्थानमा सारिएको बताए । नारायणी अनलाईनसंग कुरा गर्दै अध्यक्ष गिरीले तत्कालै बाढी पस्ने संभावना नरहे पनि व्यवसायीहरु सचेत भएर बसेको बताए ।
दुई वर्षअघि आएको बाढीले सौराहा क्षेत्र डुबानमा परेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले राप्तीमा बाढीको संभावना देखिएकोले सचेत रहन सौराहाका व्यवसायीहरुलाई आग्रह गरिएको बताए ।