कृषि

चितवनमा ५० प्रतिशत पनि रोपाइँ भएन, धान उत्पादन घट्ने चिन्ता

Banner

चितवन, असार २४-

मनसुन सक्रिय हुन ढिलो हुनु र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण चितवनमा यस वर्ष अहिलेसम्मको अवधिमा ५० प्रतिशत पनि धान रोपाइँ भएको छैन ।

कृषि ज्ञान केन्द्र चितवनका बाली विकास अधिकृत माधव पौडेलले चितवनमा जम्मा धान रोपाइँ २८ हजार ६०० हेक्टरमा हुनुपर्नेमा असार २४ गते सम्ममा करिब १३ हजार ३७० हेक्टरमा मात्र रोपाइँ भएको नारायणी अनलाइनलाई बताए । जुन रोपाइँ करिब ४७ प्रतिशत मात्र हुन आउँछ । अधिकृत पौडेलले गत वर्षको तुलनामा रोपाइँ कम भएको बताए । उनले भने, ‘हिजोदेखि चितवनमा पानी परेकोले भोलि वा पर्सीबाट भने रोपाइँले गति लिन सक्छ ।’ बाली विकास अधिकृत पौडेलले रोपाइँ ढिला हुँदा बिउको उमेर बढ्ने भएकोले उत्पादकत्व यस वर्ष घट्न सक्ने आकलन गरे । उनले भने, ‘ढिला रोपाइँ गर्दा सूर्यको प्रकाशमा कमी भयो भने पनि उत्पादन घट्न जान्छ ।’

त्यस्तै, कृषि मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म एक चौथाइ क्षेत्रफलमा पनि रोपाइँ हुन सकेको छैन । रोपाइँ थोरै भएपछि उत्पादन घट्ने निश्चित भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार २२ गतेसम्म नेपालमा औसत २३ दशमलब ७६ प्रतिशत धानखेतमा मात्रै धान रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ५२ दशमलव ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

गत वर्षको तुलनामा यो वर्ष यो अवधिमा झण्डै ३० प्रतिशतले कम धान रोपाइँ भएको हो । नेपालको भौगोलिक अवस्थाअनुसार उच्च पहाडमा सबैभन्दा बढी प्रतिशतले धान रोपाइँ भएको छ । उच्च पहाडमा ३४ दलशमलव ६४ प्रतिशत धान रोपाइँ भएको छ भने दोस्रोमा मध्य पहाडी क्षेत्रमा ३१ दशमलव १५ र तराईमा २० दशमलव ६१ प्रतिशत धान रोपाइँ भएको छ । गतवर्षको सोही अवधिमा उच्च पहाडमा ६१ दशमलव ६५, मध्य पहाडमा ५५ दशमलव ६१ र तराईमा ५१ दशमलव ५८ प्रतिशत रोपाइँ भइसकेको थियो ।

प्रदेश ३ मा असार तेस्रो सातासम्म २० दशमलव ९९ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । जबकि गत वर्षको यो अवधिमा ४६ दशमलव ९३ प्रतिशत धान रोपाइँ सकिइसकेको थियो । प्रदेश ३ को धेरै धान फल्ने जिल्ला चितवनमा असार १५ गते सम्म मात्र १० दशमलब ६६ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यो अवधिमा चितवनमा ४० प्रतिशत धान रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै सिन्धुली, काभ्रे, धादिङ लगायतका जिल्लामा पनि गत वर्षको तुलनामा कम मात्रामा रोपाइँ भएको छ ।

रोपाइँको यो प्रतिशत हेर्दा देशको प्रमुख अन्नबालीको रूपमा रहेको धान उत्पादनमा तीन वर्षमा आत्मनिर्भर हुने सरकारी लक्ष्य पूरा नहुने देखिएको छ । सरकारले सन् २०२० सम्ममा धानमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । तर सिँचाइ, मल र गुणस्तरीय बीउ अभावका कारण उत्पादन वृद्धि दिगो पार्न समस्या भइरहेको छ । नेपालमा वार्षिक करिब ६० लाख मेट्रिन टन धान खपत हुन्छ । त्यसमध्ये बर्सेनि करिब १० लाख मेट्रिक टन धान अन्य मुलुकबाट आयात गरिन्छ । यसका लागि बर्सेनि २२ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च हुने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>