चितवन विशेष
माडीमा लुकेको पर्यटकीय खजना ‘धनलक्ष्मी छहरो’ (फोटो फिचर)

चितवन, असार २०–
चितवनको दक्षिणी भेगमा पर्ने माडी उपत्यकाको आफ्नै छुट्टै पहिचान छ । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानु पर्ने माडी प्राकृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ रहेको बैकुण्ठ ताल, सामेश्वर मन्दिर, गोद्धकलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छ । यसबारे धेरै जानकार समेत छन् ।
त्यस्तै माडीकै बैकुण्ठ तालका विषयमा स्थानीयका साथै छिमेकी जिल्ला र सिमावर्ती भारतीय गाउ“का वासिन्दासमेत जानकार छन् । तर त्यो तालभन्दा माथि डेढ घण्टा पैदल हिँडेर पुग्न सकिने ‘धनलक्ष्मी छहरो’का बारेमा माडीमै बस्नेहरु पनि बेखबर छन् । झण्डै ६० मिटर उचाईबाट खस्ने निकै कम चर्चामा आएको यो छहरोलाई समेटेर पर्यटन विकास गर्न माडी नगरपालिका अग्रसर भएको छ ।
भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ छ यो ठाउँ । खरकट्टाबाट ताल रहेको जंगलको छेउसम्म मोटर गुड्न सक्ने तीन किलो मिटर कच्चि बाटो तयार भएको छ । गाडीबाट झरेपछि लगभग आधा घण्टा उकालो हिँडेर बैकुण्ठे ताल पुगिन्छ । जंगलको हरियालीको बीचमा सानो तलाउ छ । माथिबाट सानो छाँगो झरेको छ । जसले गर्दा ताल चित्ताकर्षक देखिन्छ ।
‘माडीको यो क्षेत्रमा २०/२२ सालबाट बस्ती बस्न सुरु गरेको हो । यो ताल वरपर मान्छेहरु जम्मा हुने मेला भर्ने चलन त्यही समयबाट सुरु भएको हो’ माडी–८ का वडाध्यक्ष कृष्ण अधिकारीले भने । ताल वरपरको क्षेत्रमा बालचर्तुदशीका दिन शतबीउ छर्ने चलन छ । त्यो बेला माडीका मात्रै नभएर चितवनका विभिन्न ठाउँ र छिमेकी जिल्लाका साथै भारतीय क्षेत्रबाट पनि भक्तहरु आउने गरेको वडाध्यक्ष अधिकारी बताउँछन् ।

‘शतबीउ छर्ने बेलामा निकै पहिलेदेखि मान्छेहरु यहाँ आउने गरेका हुन् । तर अचेल धार्मिक कारणका साथै घुमफीरका लागि पनि मान्छेहरु दिन दिनै यो ताल भएको ठाउँमा आउने गर्छन्’ वडाध्यक्ष अधिकारीले भने । तर त्यहाँभन्दा माथि रहेको धनलक्ष्मी पहरोको हेक्का कसैले राखेको थिएन । माडी–८ कान्तिपुर गाउँकी सावित्री रेग्मी घाँस दाउरा गर्न जाने गाउँले बाहेक अरुलाई त्यो छाँगोका बारेमा थाहा थिएन ।
‘तालभन्दा माथि अर्को राम्रो झरना पनि छ भन्ने गाउँलेहरुले सुनाए । म आफै गएर हेँरे । हेर्दा झर्ना र ठाउँ निकै राम्रो लाग्यो । यो पर्यटकीय आकर्षणको वस्तु हुन्छ भन्ने विश्वास लिएर फर्किए’–माडी नगरपालिकाका मेयर ठाकुर ढकालले भने । बैकुण्ठ क्षेत्रलाई एकीकृत रुपमा विकास गर्ने योजना बनेपछि धनलक्ष्मी छहरोसम्म पर्यटक पु¥याउने गरेर काम गर्न लागेको मेयर ढकालले बताए ।
‘बैकुण्ठ ताल र छहरोको बीचमा दुई खोली दोभान भन्ने सुन्दर ठाउँ छ । चमेरे गुफा छ । आकर्षक चट्टानहरु पनि छन् । यस्तो ठाउँलाई समेटेर एकीकृत योजना बन्दै छ । बैकुण्ठ ताल क्षेत्रमा पनि फनपार्क, बुद्धको मुर्ती, बोटिङ गर्न मिल्ले ताल बनाउने जस्ता योजनाहरु छन्’ वडाध्यक्ष अधिकारीले भने । बैकुण्ठ तालभन्दा तल सानो खोला छ । खोलामा ड्याम बाँधेर डुंगा सयर गर्ने ताल बनाउन लागेको उनले बताए ।
‘फनपार्कदेखि बैकुण्ठ ताल, दुई खोली दोभान र धनलक्ष्मी छहरोसम्म डेढ दुई घण्टासम्म पुग्न घुम्ने मिल्ने गरेर पुर्वाधारहरु बनाउँदै छौं । सिँढीसहितका बाटोहरु बनेमा यहाँ पर्यटकहरु घुम्न मज्जाले आउने छन् भन्ने विश्वास छ’ वडाध्यक्ष अधिकारीले सुनाए । माडी ठाउँ भौगोलिक हिसाबले निकै आकर्षक छ । तर दर्जनौं खहरे खोला र तीन तर्फबाट चितवन निकुञ्जसँग जोडिएको ठाउँ भएका कारण जंगली जनावरहरुले दिने दुखले माडीबासीहरु हैरान हुने गरेका छन् ।
चितवन निकुञ्जका बाघ, गैंडा देखाएर अन्यत्र पर्यटन फष्टाए पनि माडीमा यसबाट लाभ लिने भन्दा क्षेति बेहोर्नेहरु धेरै छन् । झर्ना, ताल र धार्मिक क्षेत्रहरु पनि रहेका कारण माडीले पर्यटनबाट लाभ लिन सक्ने हुँदा त्यही अनुसारका योजनाहरु बनेको मेयर ठाकुर ढकालले बताए । बैकुण्ठ क्षेत्रको विकासका लागि सहरी विकास मन्त्रालयले अग्रसरता लिएको छ ।
‘हुलाकी सडकका पुलहरु बन्न थालेका छन् । बाटोहरु बन्ने क्रममा छन् । भरतपुरबाट माडी धेरै टाढा छैन । सडक राम्रो भए एक डेढ घण्टामा आउन सकिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु भएका कारण त्यसका बारेमा प्रचार गरे हामीलाई राम्रै लाभ हुने अवस्था छ’ मेयर ढकालले भने । झर्ना प्रति मान्छे निकै आकर्षित हुन्छन् । धेरैले नसुनेको जंगलभित्रै छोपिएर बसेको धनलक्ष्मी छहरो भोलि महत्वपर्ण पर्यटकीय वस्तु बन्ने उनको आशा छ ।