Uncategorized
विश्वकप क्रिकेटः श्रीलंकाले वेष्ट इण्डिजलाई हरायो
काठमाडौं, असार १७–
एकदिवसीय विश्वकप अन्तर्गत सोमबार भएको खेलमा श्रीलंकाले वेष्ट इण्डिजलाई पराजित गरेको छ ।
सेमिफाइनलको दौडबाट बाहिरी सकेको वेष्ट इण्डिजलाई श्रीलंकाले २३ रनले पराजित गर्यो । जीतसंगै सेमिफाइनल पुग्ने श्रीलंकको गणितिय संभावना कायमै रहेको छ । ८ खेलबाट ८ अंकसहित श्रीलंका छैठौं स्थानमा रहेको छ । उसले एक खेल खेल्न बाँकी छ ।
श्रीलंकाले दिएको ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन मात्रै बनाउन सक्यो । वेष्ट इण्डिजका लागि निकोलस पुरनले ११८ रनको शतकिय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । सन् २०१७ को डिसेम्बरपछि पहिलोपल्ट बलिङ गरेका श्रीलंकाका पूर्व कप्तान एन्जेलो मेथ्युजले ४८ औं ओभरमा आफ्नो स्पेलको पहिलो बलमै पुरनलाई ११८ रनमा आउट गरेपछि वेष्ट इण्डिजको सम्भावना सकिएको थियो।
यस्तै फावियन एलनले विष्फोटक पारी खेल्दै ३२ बलमा ५१ रन प्रहार गरे ।
बलिङमा मालिंगाले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनाएको थियो । श्रीलंकाका लागि अभिष्का फर्नान्डोले शतकिय पारी खेले । उनले शेल्डन कोट्रेलको बलमा आउट हुनुअघि उनले १०३ बलमा १०४ रन प्रहार गरे ।
वेस्टइण्डिजका लागि जेशन होल्डरले २ विकेट लिँदा फाबियन एलियन, ओटाने थोमस र सेल्डन कोल्ट्रेलले एक एक विकेट हात पारे ।