कृषि
चितवनमा धान दिवसको रौनक, कृषिमा आधुनिक प्रविधिलाई प्राथमिकता

भरतपुर, असार १५-
राष्ट्रिय धान दिवसको अवसरमा चितवनको दिव्यनगरमा आज विशेष कार्यक्रम गरी धान दिवस मनाइएको छ ।
कृषि ज्ञान केन्द्र भरतपुर, भरतपुर महानगर कृषि शाखा र बृहस्पती धानबाली पकेट सञ्चालक समितिले संयुक्तरुपमा महोत्सव मनाएका हुन् । रोपाइ महोत्सवको प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति कृष्णभक्त पोखरेलले यन्त्रबाट धान रोप्दै उद्घाटन गरे ।
चितवन क्षेत्र नम्बर २ का सांसदसमेत रहेका पोखरेलले कार्यक्रममा आधुनिक प्रविधि र यान्त्रिकरण बिना व्यवसायिक धान खेती सम्भव नरहेको भन्दै यसतर्फ आकर्षित हुन किसानलाई आग्रह गरे । परम्परागत तथा जीविकोपार्जनका खेतीपातीले देशको खाद्य अभावको अवस्थालाई टार्न नसक्ने भन्दै उनले विकसित प्रविधि अंगालेर व्यवसायिक उत्पादनमा लाग्न आग्रह गरेका हुन् । किसान भएर बाँच्नुको भिन्दै आनन्द र इज्जत रहेको उल्लेख गर्दै सांसद पोखरेलले भने,‘ अरु क्षेत्रबाट जे जति जीडीपीमा योगदान रहे पनि कृषिलाई कसैले कम आकलन गर्न सक्दैनन् ।’
व्यवसायिक कृषि कर्म नै आजको आवश्यकता रहेकाले मास प्रोडक्सनका लागि आधुनिक कृषि प्रणालीको उपयोग उत्तम हुने उनले बताए । कृषकलाई प्रोत्साहन गर्न राज्यका थुप्रै सहयोग योजनाहरु रहेकाले वास्तविक किसान समक्ष उक्त योजनाहरु पु¥याउन सके नेपाललाई पुन सबै खाले खाद्य बालीमा निर्भर गराउन सकिने सांसद पोखरेलले बताए । कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल ‘अविनाश’ले कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न आधुनिक कृषि प्रणालीमा जबरजस्ती लाग्नुको विकल्प नभएको बताए । कृृषि ज्ञान केन्द्रका प्रमुख सुधीर श्रेष्ठले धान खेतीमा प्रविधि र यन्त्रीकरण, चामल आयातमा न्यूनीकरण भन्ने नारासहित दिवस मनाइएको बताउँदै धानसगैँ अन्य बाली उत्पादनमा केन्द्रले यन्त्रको प्रयोगमा जोड दिएको बताए ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, राष्ट्रिय बीउबिजन समितिका अध्यक्ष मित्रराज दवाडीलगायतले आधुनिक कृषि प्रणालीको महत्वबारे बोलेका थिए ।