नवलपुर
कावासोती खानेपानी निर्वाचनः प्रगतिशिल प्यानलद्धारा कार्ययोजना सार्वजनिक

ज्ञानु पँगेनी,
नवलपुर, असार १२–
नवलपुरको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको असार १४ गते (शनिबार) हुने निर्वाचका लागि नेकपा निकट भीमलाल कँडेल नेतृत्वको प्रगतिशिल प्यानलले कार्ययोजना सार्वजनिक गरेको छ ।
आज पत्रकार सम्मेलन गरी प्रगतिशिल प्यानलले आफ्ना आगामि कार्ययोजना सार्वजनिक गरेको हो । अध्यक्षका उम्मेद्वार कँडेलले आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । कँडेलको प्यानल तर्फबाट प्रस्तुत कार्ययोजनामा केरुङ्गे खोला श्रोत पुनः निर्माण गरी श्रोत संरक्षण गर्ने, लुम्बिनी आदर्श डिग्री परिसरको स्थानमा ४५० घन.मिटरको आकाशे ट्याङ्की निर्माण गर्ने, शिव सामुदायिक वन क्षेत्र भित्रको प्राप्त जमिनमा डिप बोरिङ्ग र ४५० घनमिटरको ट्याङ्की निर्माण गर्ने, आगामी आर्थीक वर्षदेखि कम्प्युटर प्रविधिद्धारा मिटर रिडिङ्ग सेवा प्रदान गर्ने, पूर्व–पश्चिम राजमार्ग पुनः निर्माणबाट हुन सक्ने क्षतीको लागी सम्बन्धीत निकायसंग समन्वय गरी सहज किसिमबाट पानी आपूर्ती गर्ने बताए ।
यस्तै जिल्लाको नमुना सदरमुकाममा स्थापना हुने सरकारी कार्यालयलगायत सो क्षेत्रको जनघनत्वलाई मध्यनजर गरी विशेष योजना तर्जुमा गरी कार्यान्वयन गर्ने, नगर क्षेत्रभित्रका सडकमा डीपीआर तयार गरी नगर, प्रदेश र संघीय सरकारसंग समन्वय गरी नयाँ पाईप बिस्तार गरी पुनः निर्माण गर्ने, नगर क्षेत्रभित्रका सबै मुल सडकको दायाँबायाँ दुवै तर्फ पाईप बिच्छ्याउने, कावासोती नगरपालिकासंग समन्वय गरी वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन, सिमसारको पहिचान तथा नयाँ शहरको गुरुयोजना तयार गर्ने कार्ययोजना रहेको जानकारी दिए ।
यस्तै वातावरणीय संरक्षणका लागी सडकका दुबैतर्फ वृक्षरोपण गर्ने, कावासोती नगरपालिकासंगको साझेदारीमा विभिन्न सरकारी एवंम् गैह्रसरकारी संस्थाहरलाई समेत सहभागी गराई खानेपानीको श्रोत संरक्षण, खानेपानीको महत्व, सरसफाई र वातावरण स्वच्छ राख्न जनचेतनामुलक कार्यक्रम तर्जुमा गरी कार्यन्वयन गर्ने, मुहान संरक्षणका लागी विशेष योजना तयार गरी कार्यन्वयन गर्ने, विपन्न तथा असहाय उपभोक्ताहरुलाई उपलब्ध गराउदै आएको सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने, विधानमा व्यवस्था भए अनुसार उपभोक्ताहरु शेयर सदस्य रहने गरी सहकारी संस्था सञ्चालन गर्ने, सामाजिक सुरक्षाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने लगायतका आगामी कार्ययोजना रहेको जानकारी दिए ।
कार्यक्रममा प्यानलका तर्फबाट उपाध्यक्षका उम्मेद्वार रमिला भुजेल, सचिवका उम्मेद्वार दिपकराज लम्साललगायत प्यानलबाट उम्मेद्वारी दिएका सबै उम्मेद्वारहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेकपा जिल्ला सदस्य नारायण तिमिल्सीनाको अध्यक्षतामा भएको थियो ।