नवलपरासी
नवलपरासीमा कृषकलाई २९० पम्पसेट वितरण

परासी, असार ६–
समयमा वर्षात नभएर खेती गर्न नपाएका पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका किसानहरु गाउँपालिकाबाट पम्पसेट पाएपछि उत्साहित भएका छन् ।
गाउँपालिकाले सिँचाइ प्रवद्र्धन गर्दै कृषि उत्पादन बढाउने उद्देश्यले २९० कृषकलाई राहत स्वरुप पम्पसेट वितरण गरेको छ । अनुदानमा गाउँपालिकाबाट पम्पसेट पाएपछि समयमा पर्याप्त वर्षा नभएका कारण रोपाइ गर्न नसकिरहेका कृषकहरु लाभान्वित भएको कृषक विजय पटेलले बताए ।
“हामी कृषकहरु पानीको अभावले समयमा खेती गर्न सकिरहेका छैनौ, जसले गर्दा उत्पादनमा ह्रास आउने समस्याबाट जुधिरहनुपरेको छ, अहिले गाउँपालिकाले कृषकहरुलाई समयमै खेती गर्न सक्ने र उत्पादन बढाउन सक्ने गरी पम्पसेट वितरण गरेर हामीलाई उत्साह थपेको छ” उनले भने ।
गाउँपालिकाले कृषिलाई उच्च प्राथमिकता दिएर कृषकलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । कृषिको उर्बर क्षेत्र मानिने यस गाउँपालिकामा कृषिलाई आधुनिकीकरण र कृषकलाई व्यावसायिक कृषिमा उन्मुख गराउन पम्पसेट वितरण गरिएको गाउँपालिका अध्यक्ष दीपक गुप्ताले बताउनुभयो ।
गाउँपालिकामा पश्चिम गण्डक नहर रहेपनि सबैको खेतमा सिँचाइ नपुग्ने भएकाले पम्पसेटको मद्दतले सिँचाइ गर्न सहज हुने साथै पानीको अभाव रहेको क्षेत्रमा पनि बोरिङबाट सिँचाइ गर्नका लागि पनि पम्पसेट वितरण गरिएको उहाँको भनाइ छ ।
पम्पसेट दीर्घकालीन उपाय नभएकाले आगामी दिनमा गाउँपालिकाले सिँचाइ उपलब्धताका लागि ठोस नीति बनाएर अघि बढ्ने अध्यक्ष गुप्ताले बताउनुभयो । पानी नभए खेती नै हुन नसक्ने र चर्को मूल्य तिरी बोरिङको पानीबाट सिँचाइ गरिरहेका किसानलाई यसले ठूलो राहत पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताए । सरकार र कृषकको ५०÷५० प्रतिशत लागत सहभागितामा पम्पसेट वितरण गरिएको हो ।
उनका अनुसार गाउँपालिकाको रु ४३ लाख ७५ हजार, प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु १५ लाख गरी रु ५८ लाख ७५ हजार सरकारको अनुदान र थप ५८ लाख ७५ हजार कृषकको लगानी गरी रु एक करोड १७ लाख ५० हजारको बजेटबाट पम्पसेट किसानलाई वितरण गरिएको हो ।
६ वटा वडा रहेको यस गाउँपालिकाका प्रत्येक वडामा कम्तीमा ३५ जनाको दरले पम्पसेट वितरण गरिएको हो । सूचना प्रकाशित गरी कृषक छनौट गरिएको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा भने १५८ जनालाई वितरण गरिएको अधिकृत पौडेलले बताए । (रासस)