चितवन विशेष
माडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

चितवन, असार ५–
माडी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।
नगरपालिकाले आजदेखि यस आर्थिक वर्षमा १४५ जनालाई रोजगार प्रदान गर्न लागेको छ । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले वडा नं ८ कान्तिपुरस्थित चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरुभएको स्थानमा आयोजित कार्यक्रममा कामदारलाई बेल्चा र तगरी दिएर नगरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा मेयर ढकालले कामको खोजिमा भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको भन्दै काम गर्ने र रोजगार बन्ने समय आएको बताए । विदेशमा युवा पलायन रोक्न र स्वदेशमा रोजगारी सृजना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको भन्दै उनले श्रममा विश्वास गर्नेहरुका लागि यो उपयुक्त अवसर भएको बताए । कार्यक्रममा नगरपालिकाका उपमेयर ताराकाजी महतो, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेल लगायतले मन्तव्य राखेका थिए ।
माडीको वडा नम्बर ८ कान्तिपुरस्थित चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरुवात भएको स्थानमा कुलो बिस्तार र मर्मतमा ४० जना, वडा नम्बर ५ को पर्यटकीय क्षेत्र सोमेश्वरमा चौतारो निर्माण र छरछरेमा भु–संरक्षणका लागि पर्खाल निर्माणका लागि ३०÷३० जनाले रोजगार प्राप्त गर्नेछन् । त्यसैगरी भु(संरक्षणकै काम अन्तर्गत वडा नम्बर ९ को घाँघर खोला र प्याउली खोलामा १५÷१५ जना, वडा नम्बर ३ को मगुई खोलामा १५ जनाले ड्याममा बाँस लगाउने काम गर्ने माडी नगरपालिकाकी रोजगार संयोजक यमुना ढकालले जानकारी दिईन ।
माडी नगरपालिकामा ११ सय ६८ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आवेदन फारम भरेका छन् जसमा महिलाको संख्या अधिक रहेको जनाइएको छ । यस आर्थिक वर्षमा रोजगार प्राप्त गर्ने १४५ जनाले दैनिक ६०० रुपैयाँको दरले पारिश्रमिक प्राप्त गर्ने संयोजक ढकालले बताईन ।
संघीय सरकारले सञ्चालन गरिरहेको यो कार्यक्रम देशैभरका स्थानीय तहहरुमा लागु गरिएको छ ।