चितवन विशेष

नेपालका सर्प र सर्पदंशको बारेमा खोजमूलक पुस्तक सार्वजनिक

Banner

चितवन, जेठ २९

नेपालका सर्पहरु र सर्पदंश उपचारको बारेमा लेखिएको अनुसन्धानमूलक पुस्तक आज भरतपुरमा विमोचन गरिएको छ ।

डा. देवप्रसाद पाण्डे र डा. छविलाल थापामगरले संयुक्तरुपमा तयार पारेको ‘नेपालमा चिकित्सकीय महत्वका सर्पहरु र सर्पदंश व्यवस्थापन’ नामको अनुसन्धानमूलक पुस्तकको पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन् ।

लेखकद्वय पाण्डे र थापामगरले झण्डै साढे दुई वर्ष लगाएर नेपालमा भेटिने विभिन्न प्रजातिका सर्पहरु र सर्पदंशका विभिन्न घटनाहरुको सुक्ष्मरुपमा अध्ययन गरेर सो पुस्तक तयार पारेका छन् । पुस्तक विद्यालय तथा विश्वविद्यालय तहका मेडिकल क्षेत्रका विभिन्न विद्यार्थीहरु र प्राध्यापकहरुलाई अध्ययन, अनुसन्धान गर्न सहयोगी हुने गरी तयार गरिएको छ । जम्मा २९० रंगिन पृष्ठमा फोटोहरु सहित प्रकाशित पुस्तकको मूल्य दुई हजार एक सय रुपैयाँ रहेको छ ।

पुस्तकका लेखक डा पाण्डेले आफ्नो काकाको छोरी सर्पदंशको कारणले चितवनको माडीमा विसं २०५९ सालमा निधन भएपछि सर्पदंशको बारेमा अध्ययन अनुसन्धान गर्ने प्रेरणा आएको बताए । उनले त्रिभुवन विश्वविद्यालयबाट सन् २००२ मा परजीवीशास्त्रमा स्नातकोत्तर र जर्मनीको गोथे विश्वविद्यालयबाट सन् २०१५ मा नेपालका सर्प र सर्पदंश विषयमा पीएचडी गरेका थिए । उनको अन्तर्राष्ट्रिय जर्नलमा सर्पदंशको बारेमा १४ वटा अनुसन्धानमूलक लेखहरु छापिइसकेका छन् ।

त्यसैगरी पुस्तकका अर्का लेखक डा थापामगर सर्पदंशको उपचारबारेका नेपालका विज्ञ हुन् । उनी नेपालमा सर्पदंशसम्बन्धी तालिम दिनुपर्छ र उपचार निःशुल्क हुनुपर्छ भनेर माग गर्ने नेपालकै अग्रज डाक्टर मानिन्छन् । उनका पनि सर्पदंशको बारेमा अन्तर्राष्ट्रिय जर्नलमा खोजमूलक लेख प्रकाशित भइसकेका छन् । नवलपुर निवासी डाक्टर थापामगर कावासोतीको कालीगण्डकी अस्पतालका निर्देशक हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>