मौसम

यस वर्ष मनसुन एक साता ढिलो

Banner

काठमाडौँ जेठ २७-

यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन आज अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए। “मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ ।” उनले भने ।

मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ तर अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

नेपालमा मनसुन भित्रिनका लागि दक्षिण पूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करीब छ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ तर अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । माथिल्लो सतहसम्म पुगेको छैन् । जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने मौसमविद् आर्यालले जानकारी दिए ।

मनसुन पूर्ण सक्रिय हुनका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा स्प्रष्टसँग देखिनपर्ने हुन्छ । न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेकोको हुनुपर्छ । यसका साथै उच्च चापीय क्षेत्रको विकास पनि भएको हुनुपर्छ ।

सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । यसवर्ष मनसुन एक साता ढिलो गरी शुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गतवर्ष जुन ८ मा मनसुन शुरु भएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>