चितवन विशेष

रेनु दाहाल आफै जमानत बसेर छुटाइन रंगशाला बार प्रकरणका आरोपितहरुलाई

Banner

चितवन,जेठ २७-

चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बारमा डोजर लगाएर भत्काएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार १०ः ३० बजे मुख्य आरोपितका रूपमा चर्चामा आएका प्रकाश कँडेल, भैरव बास्ताकोटी, सुरेन्द्र बिक र धुव्र चापागाई रिहा गरेको हो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल आफै जमानत बसेर उनिहरुलाई रिहा गराउनुभएको हो । यसअघि पक्राउ परेका १८ जनामध्य यसअघि १४ जनालाई हाजिरी जमानीमा छाडिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दानवहादुर मल्लले पक्राउ परेका सबैलाई हाजिरी जमानीमा छाडिएको बताउनुभयो । चारै जनालाई १२ दिनसम्म दैनिक हाजिरी जमानीमा छाडिएको उहाँले जानकारी दिनुभयो । घटना घटाउने पक्षले क्षमायाचना गर्ने र भत्काएको बार पुनःनिर्माण गर्ने विषयमा सहमति जनाएपछि रंगशाला निर्माणमा थप वातावरण बनाउन रिहा गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

रिहा भए लगत्तैपक्राउ परेका चारै जनाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जेठ १५ गते विहान डोजर लगाएर बार भत्काउने कार्यप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन् । उनीहरुले भत्काएको पश्चिम तर्फको बारलाई तत्काल यथास्थानमा पुनःनिर्माण गर्ने विज्ञप्तीमा उल्लेख गरेका छन् ।

रंगशालाको बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेशनले काम रोकेको छ । कर्मचारी कामदारको जीउ ज्यान र भौतिक सम्पत्तिको सुरक्षामा खतरा र गम्भीर परस्थिति सृजना भइ काम गर्ने वातावरण नभएको भन्दै धुर्मुश सुन्तली फाउण्डेशनले काम स्थगनको घोषणा गरेको थियो । निर्माणाधिन रंगशालाका पश्चिम सीमाका स्थानीयले बाटो चौडा बनाउन जग्गा माग गर्दै फाउण्डेशनले लगाएको जस्ताको बारमा डोजर लगाएर भत्काएका थिए । घटनाको चौतर्फी बिरोध भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>