सुदूरपश्चिम

अछामको माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा बम विस्फोट

Banner

अछाम, जेठ २५

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्पर्क कार्यालयलाई लक्षित गरेर शनिबार बिहान अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ ।

तुर्माखाँद गाउँपालिका–३ असराघाट निबासी दीपक बिसीको घरमा भाडामा रहेको कार्यालयलाई लक्षित गरी बिहान करिब साढे ४ बजेतिर बम विस्फोट गराउँदा घरमा क्षति भएको छ । साथै भे.७ प.९६९८ नम्बरको मोटरसाइकलमा आगजनी गर्नुका साथै शौचालयमा प्रेसर कुकर बम विस्फोटबाट पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शाहीको नेतृत्वमा सदरमुकाम मंगलसैनबाट र भैरवस्थान अछामबाट प्रहरी सहायक निरीक्षक दिर्घनाथ योगीको कमाण्डमा टोली घट्नास्थल गएको थियो । बिसीको ३ तले घरको तल्लो तलामा एक हजार पाँच सयका दरले भाडा दिने गरी माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्पर्क कार्यालय छ ।

अज्ञात समूहको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जगत गाहा मगरको कमाण्डमा १५ जना र मातहत इलाका प्रहरी कमलबजार, विनायक, प्रहरी चौकी भैरबस्थान, अस्थाई प्रहरी पोष्ट तुर्माखाँद, बेलखेत प्रहरी पोष्टबाट २५ जनाको प्रहरी टोली तुर्माखाँद गाउँपालिकामा परिचालन गरिएको शाहीले जानकारी दिए ।

घटनास्थलदेखि ३ कि.मी.पूर्व कर्णाली नदी पारी दैलेखको आठविस नगरपालिका वडा नं.१ डावमा अपर कर्णाली हाईड्रोपावरको कार्यालय रहेको छ । यसअघि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले विभिन्न जलविद्युत् आयोजनामा बम विस्फोट गराएकाले यहाँ पनि विप्लव समूहले नै विस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा पार्न थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>