खेलकुद

पाँचौँ चितवन च्याम्पियनसिप फुटबल सुरु, गैंडाकोटको विजयी सुरुवात

Banner

चितवन, जेठ २४–

एभरेष्ट क्लब भरतपुर ११ को आयोजनामा हनामी पाँचौँ चितवन च्याम्पियनसिप सुरु भएको छ । प्रतियोगिताको आज (शुक्रबार) नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उद्घाटन गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले खेलकुदको विकास गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए । खेलकुदको विकास नभएसम्म समृद्ध नेपाल बन्न नसक्ने भन्दै मन्त्री विश्वकर्माले त्यसका लागि सरकारले काम गरिरहेको बताए । खेलकुदका विकासका लागि सरकारले हरेक जिल्लामा रंगशाला तथा व्यवस्थित खेल मैदान गर्न लागेको विश्वकर्माले जानकारी दिए ।

सरकारले क्रिकेटको विकासका लागि विभिन्न ठाउँमागरि नौ वटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न लागेको समेत विश्वकर्माले बताए । खेलाडीहरुको सेवा सुविधा बढाउनका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले यो सरकारले युवालाई खेलकुदमा आकर्षण गर्नका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीको मासिक भत्ता ६ हजार रुपैयाँ पु¥याएको बताए । सरकारले खेलाडीको लागि निशुल्क रुपमा स्वास्थ्य बीमा, जीवन बीमा गरिदिएको उल्लेख गर्दै अबको नेपालमा खेलमा भविष्य हुने बताए ।

खेलकुदमा भविष्य सुनिश्चित गर्नका लागि सरकार सधैँ चनाखो रहेको उल्लेख गर्दै विश्वकर्माले खेलकुदको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । उत्साहका साथ खेलकुदमा लागेका युवाहरुलाई सरकारले निराश नपार्ने मन्त्री विश्वकर्माले बताए । एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्की, एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुलगायतले मन्तव्य राखेका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा साविका विजेता गैँडाकोटको फोर ब्रदर्श फुटबल क्लब विजयी भएको छ । गैँडाकोटले ३–२ गोल अन्तरले सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबलाई पराजित गरेको एभरेष्ट क्लबका सचिव विकास कोइरालाले बताए । प्रतियोगितामा गैँडाकोटको फोर ब्रदर्शका तर्फबाट राजिव लोप्चनले एक तथा सजिन थापाले दुई गोल गरेका थिए ।

त्यस्तै, सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबका तर्फबाट सुनील श्रेष्ठ र निरज बस्नेतले एक एक गोल गरेका थिए । निकै रोमञ्चकारी खेलमा गैँडाकोटको फोर ब्रदर्शका अमीर श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका छन् । प्रतियोगिता अन्तर्गत भोलि शनिबार नारायणगढ फुटबल क्लब र राप्ती रिभर्स फुटबल क्लबबीच प्रतियोगिता हुनेछ ।

‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछ ।

सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने छ ।

असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि तथा नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।

प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने छ । फिफा नियमअनुसार खेलाइने सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>